Main News

आगामी चार दिन भारी वर्षा हुने, सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

हिमालय टिभी
२०७७ असार २५ गते ८:५५
आगामी चार दिन भारी वर्षा हुने, सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

२५ असार, २०७७ काठमाडौं । गृह मन्त्रालयले आजदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण गर्दै क्षतिबाट जोगिन चनाखो रहन आग्रह गरेको छ ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सूचना जारी गर्दै आजदेखि असार २८ गतेसम्म यस वर्षको सबैभन्दा धेरै वर्षा हुने अनुमान गरेको हो ।

सम्भावित विपत्तिपछिको उद्धारका लागि ‘अलर्ट’ रहन प्राधिकरणले नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीलगायतका निकायलाई पनि आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुन सक्ने भएकाले यस क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढ्न सक्ने प्राधिकरणको अनुमान छ ।

वर्षाकै कारण पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानको खतरा रहेको प्राधिकरणले जनाएको छ । पहाडी क्षेत्रको खोलानाला तथा खहरेमा बाढी आउने सम्भावना छ ।

पहाडको माटो लामो वर्षाका कारण गलिसकेको हुँदा पहिरो जान सक्ने भएकाले चनाखो रहन आग्रह गरेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रदेश १ र प्रदेश २ को चुरे, तराई भएर बग्ने खोला तथा नदीमा ठूलो बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ । त्यस्तै झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पार्सा, रौतहट, चितवनलगायतका जिल्लामा वर्षाकै कारण डुबान हुन सक्ने भएकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ ।

केही बेरअघि खोटाङको रबुवाबजारमा दुधकोशी नदीले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । खतराको तह खोटाङ,ओखलढुङगा र आसपासका क्षेत्रसहित दुधकोशी(सुनकोशी दोभान सम्मको क्षेत्रमा विहान ९ बजे सम्म उच्च सतर्कता अपनाउनहुन केन्दर्ले अनुोरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *