Main News

धनगढीका सडकभरि खाल्डाखुल्डी, यात्रु र सवारी साधन मारमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २४ गते १८:४३
धनगढीका सडकभरि खाल्डाखुल्डी, यात्रु र सवारी साधन मारमा (भिडियोसहित)

२४ असार, २०७७ धनगढी । धनगढी उपमहानगरपालिकाभित्रका सडक सामान्य वर्षाका बेला पनि हिलाम्मे हुँदा पैदल यात्रु तथा सवारी चालकलाई समस्या भइरहेको छ । जीर्ण अवस्थामा रहेको धनगढीको मुख्य सडक र भित्री सडकमा सामान्य पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेका छन् ।

धनगढीमा क्याम्पस रोडदेखि शहीद गेट, क्याम्पस चौकदेखि कैलाली बहुमुखी क्याम्पस, धनगढी गाउँदेखि घुइयाघाट, पुरानो सब्जी मन्डी लगायतका १ दर्जन सडकको अवस्था दयनीय छ । सडक जीर्ण भएपछि आवत जावत गर्न समेत समस्या भइरहेको स्थानीयको गुनासो छ ।

खाल्डाखुल्डीमा ग्राभेल मात्रै हाल्दिए पनि आवतजावत सहज हुने स्थानीयको आशा छ । तर त्यसमा कसैको ध्यान जादैन् । ठुलठुला खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ । यस्तै धनगढीको सबैभन्दा बढी खाल्डाखुल्डी भएको हसनपुर पिपल चौतारा सडक पनि जिर्ण बनेको छ ।

स्थानीय सरकार लगायत प्रदेश सरकारले सडक निर्माणमा कुनै पनि चासो नदेखाएको आरोप सर्वसाधारणले लगाइरहदाँ धनगढी उपमहानगरपालिकाले भने मर्मतको तयारी भइरहेको जनाएको छ । उपमहानगरपालिकाले खाल्डाखुल्डी व्यवस्थापन लगायत केही सडकको टेण्डर भएको जनाएको छ ।

ठेक्का लगेका सडक पनि समयमै नबन्ने र बनिसकेका सडकमा पनि केही महिनामै खाल्डाखुल्डी पर्ने थालेपछि स्थानीयले कमशल सामग्रीको प्रयोग भएको आशंका गरेका छन् । बर्षातका वेला धनगढीमा अधिकांश सडकका नाली निर्माण भइरहेका कारण त्यो पैसा मात्रै सक्ने काम भएको उनीहरुको बुझाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *