रोजगारीका लागि कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन (फोटो फिचरसहित)

२४ असार, २०७७ काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पुरा गरी उडानको पर्खाइमा रहेकाहरुले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजार बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको शिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरि देवकोटाले बताउनुभयो । सरकारले आफ्ना मागहरु पुरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो ।
सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर’, गरि खान दे सरकार, ‘उडान खोली जान दे सरकार’, ‘प्रधानमन्त्री ज्यू बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देउ’, ,‘काम रोक्न पाइँदैन, नालायक सरकार चाहिँदैन’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौ भने लाखौ बेरोजगार युवाहरुको भविष्य नबिगार’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
प्रतिक्रिया