राजनीति

राष्ट्रपति भण्डारीसँग प्रचण्डसहितका शीर्ष नेताहरुको भेटवार्ता

हिमालय टिभी
२०७७ असार २१ गते १३:२५
राष्ट्रपति भण्डारीसँग प्रचण्डसहितका शीर्ष नेताहरुको भेटवार्ता

२१ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डसँगै नेता झलनाथ खनाल र माधव कुमार नेपालले राष्ट्रपति भण्डारीसँग भेटेर महाअभियोगको अफवाहबारे छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बेलुकी मन्त्रीहरुसँग आफूलाई हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने खेल भइरहेको बताउनुभएको थियो । प्रचण्ड–नेपाल समूहले राष्ट्रपतिलाई महाअभियोग लगाउने योजना बनाएको प्रधानमन्त्रीको आरोप थियो ।

प्रधानमन्त्रीको यो आरोपको प्रचण्डनेपाल पक्षले खण्डन गरिसकेको छ । त्यसैले यसबारेमा स्पष्ट कुरा गर्न नेकपा नेताले राष्ट्रपतिलाई भेट्नुभएको हो । भेटमा तीन नेताले आफुहरुले नभइ बालुवाटारबाटै राष्ट्रपतिलाई विवादमा ल्याउने काम गरिरहेको भन्दै त्यसप्रति सचेत बन्न आग्रह गरेका थिए ।

बालुवाटारले आफु बच्ने कार्डका रुपमा राष्ट्रपतिलाई प्रयोग गरिरहेको भन्दै तीन नेताले पार्टीको विवादमा नमुछिन समेत सचेत गराएको स्रोतले जनाएको छ । नेकपाको विवाद चर्किँदै गएका बेला राष्ट्रपति भण्डारीको सक्रियता समेत बढेको छ ।

यसअघि अध्यक्ष प्रचण्डले बिहीबार पनि राष्ट्रपतिलाई भेटेर पार्टीको विवादमा कुनै पनि समुहको पक्ष नलिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्