आज आषाढ शुक्ल पूर्णिमा, गुरु पूर्णिमा पर्व मनाइँदै

Himalaya Television
२०७७ असार २१ गते ८:२८

आज आषाढ शुक्ल पूर्णिमा, गुरु पूर्णिमा पर्व मनाइँदै

२१ असार, २०७७ काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ ।

गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।

गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवम् संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *