राजनीति

नेकपामा कुर्सी विवाद : चार दिनका चार दृश्य,यसरी भुइँमा झरे ओली र प्रचण्ड ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १६ गते २०:२५
नेकपामा कुर्सी विवाद : चार दिनका चार दृश्य,यसरी भुइँमा झरे ओली र प्रचण्ड ! (भिडियोसहित)

१६ असार, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा देखिएको कुर्सी र बस्ने ठाउँ सम्बन्धी विवाद समाधान भएको छ । शीर्ष नेतालाई पनि अन्य सदस्य सँगै राखेपछि तत्कालका लागि विवाद हल भएको हो ।

सत्तारुढ नेकपामा अनेकौं विवाद छन, ती विभिन्न रुपमा बाहिर आउँछन । ती मध्ये एउटा विवाद हो बेला बेला हुने बैठकमा नेताको आसन सम्वन्धि व्यवस्था । यसपटक पनि स्थायी कमिटी बैठकमा कुर्सी र आसनको विवाद उठ्यो । र, चार दिनमा चार थरि दृश्य देखिए । पहिलो दिन सोफामा देखिएका दुई अध्यक्ष चौथो दिन आईपुग्दा अरु स्थायी कमिटी सदस्यसँगै मञ्चबाट तल झरेका छन् ।

बैठकको पहिलो दिन असार १०
नेकपा स्थायी कमिटी बैठकको पहिलो दिन असार १० गते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोफा र अरु सचिवालय सदस्यलाई सामान्य कुर्सीको व्यवस्था गरेर मञ्चमा राखियो । अरु स्थायी कमिटी सदस्य हलमा तल कुर्सीमा बसे । तर दुई अध्यक्ष सोफामा बसेर अरु सचिवालय सदस्यलाई पछाडि राखेको भनेर शुरुकै दिन विरोध भयो । वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै कुर्सी अगाडि सार्न लगाउनुभएको थियो । नेपाल निकट स्थायी कमिटी सदस्य रघुजी पन्तले विभेद गर्नु नहुने बताउनुभयो ।

बैठकको दोस्रो दिन असार ११
बैठकको दोस्रो दिनको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुभयो । तर त्यस दिन पनि नेताहरुको कुर्सी र आसनको विषय उठ्यो । सचिवालयकै सदस्य नारायणकाजी श्रेष्ठ सहित अष्टलक्ष्मी शाक्य र भीम रावलले कुर्सी व्यवस्थापनमा सामन्तीशैली अपनाइएको भन्दै विरोध गर्नुभयो । विरोध पछि ओली र प्रचण्डका लागि राखिएको सोफा हटाईयो ।

बैठकको तेस्रो दिन असार १२
नेकपाको स्थायी कमिटी बैठकको तेस्रो दिन अर्को नयाँ दृश्य देखियो । दुई अध्यक्ष सहित सबै सचिवालय सदस्य कुर्सीमा माथि र अरु स्थायी कमिटी सदस्य पहिले झै तल बस्ने गरी व्यवस्था मिलाईयो । यसपछि कुरा मिलेको धेरैको अनुमान थियो, तर चौथो दिन अर्कै परिदृष्य देखियो ।

बैठकको चौथो दिन असार १६
चारदिन पछि बसेको चौथो बैठकमा एका एक फरक दृश्य देखियो, जुन सामान्य अनुमान भन्दा बाहिरको थियो । तेस्रो दिनको बैठकसम्म मञ्चमा देखिएका दुई अध्यक्ष सहित सबै सचिवालय सदस्य पनि तल झरेका छन । तर यसपटक वामदेव गौतमको आसन अरु दिन भन्दा फरक देखियो । गौतम दुई अध्यक्ष, दुई वरिष्ठ नेतासँगै अघिल्लो लहरमा हुनुहुन्छ । त्यस्तै ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ एउटै र रामबहादुर थापा र विष्णु पौडेल एउटै लहरमा हुनुहुन्छ । त्यसपछि अरु स्थायी कमिटी सदस्यलाई राखिएको छ ।

नेकपामा यसरी पटक पटक कुर्सीको विवाद आउनुको कारण भने साँस्कृतिक विचलनसँग जोडिएको छ । संसारभरीकै कम्युनिष्टहरु आफुलाई समानताका हिमायती ठान्छन् । समाज र पार्टीमा कुनै पनि खालका विभेद हुन नहुने सिद्धान्तबाट निर्देशित भएको दावी गर्छन । तर नेपालमा कम्युनिष्ट नामधारी पार्टी र तिनका शिर्ष नेतामा भने सामन्ती सोंच र व्यवहार नराम्रोसँग जरा गाडेर बसेको छ । यही सोंचका कारण नेकपामा पनि पटक पटक कुर्सी र आसनको विवाद हुने गरेको छ । किनकी सैद्धान्तिक र सांस्कृतिक रुपले विचलित हुँदै गएपछि आउने विवाद र कथा यस्तै हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्