राजनीति

स्थायी कमिटी बैठक प्रभावित, प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा फुटको संघारमा !

हिमालय टिभी
२०७७ असार १६ गते १९:०६
स्थायी कमिटी बैठक प्रभावित, प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा फुटको संघारमा !

१६ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट नेकपाको एकता गम्भीर संकटमा परेको छ । भारतसँग मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामक दल दर्ताका लागि निवेदन परेसँगै नेकपाको एकता संकटमा परेको आंकलन गर्न थालिएको छ ।

यी दुई विषयलाई लिएर नेकपाको स्थायी कमिटी बैठकमा आज चर्को विवाद भएको छ । स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायण काजी श्रेष्ठ लगायतका नेताले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन समेत भनेका छन ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले हटाउन खोज्यो भनेर नेपाली सार्वभौमसत्ताको अपमान गरेको भन्दै ओलीको राजिनामा मागेको स्रोतले जनाएको छ ।

सरकार र पार्टी दुवै संचालन गर्न नसकेकाले ओलीले राजिनामा दिनुपर्ने प्रचण्डको तर्क छ । प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो–तपाइँको राजिनामा दिल्लीले होईन मैले मागेको हो । पहिले पनि मागेको थिएँ अहिले पनि भन्छु– दुवै पदबाट राजिनामा दिनुस ।’

यस्तै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि प्रचण्डको भनाईमा सहमति जनाउँदै पद छोड्न दबाब दिनुभएको छ । उहाँहरुले भन्नुभएको छ – हामीले नै तपाइँलाई हटाउन खोजेको हो,अहिले भारतले हटाउन खोज्यो भन्नुको कुनै अर्थ छैन ।’

वरिष्ठ नेता नेपाल र खनालले ओलीलाई तपाइले पार्टी सक्नुभयो त्यसैले अब बहुमत आउने हो कि होईन भन्ने स्थिति समेत बनेको छ सम्म भन्न भ्याउनुभएको छ । भारतसँग मिलेर हटाउन खोजेको अभिव्यक्तिबारे पनि नेताहरुले प्रधानमन्त्री ओलीसँग प्रमाण मागेका छन ।

काल्पनिक कुरा गरेर विषयान्तर गर्न खोजेको भन्दै उनीहरुले ओलीको चर्को आलोचना गरेका छन । तर जवाफमा यसबारे ओलीले कुनै मूर्त जवाफ नदिई, काम गर्दा पनि सहयोग नपाएको गुनासो गर्नुभएको छ । स्रोतका अनुसार ओलीले भारतले चलखेल गरेको भन्ने विषयमा भारतीय संचार माध्यममा आएका कुरा र नेताहरुले नेपालमा गरेका कुरा कसरी ठ्याक्कै मिल्छन भन्ने प्रश्न गर्नुभएको थियो ।

स्थायी कमिटी बैठक प्रभावित
आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ।

ओलीको अभिव्यक्ति र एमाले दल दर्ताको निवेदनले बैठक प्रभावित भएको हो । यी विषयका कारण निर्धारित कार्यसूचिमै छलफल हुन सकेन । यी विषयले बैठक प्रभावित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वीकार गर्नुभयो ।

नेकपा स्थायी कमिटी बैठक अब प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको राजिनामामा प्रवेश गरेको छ । यी दुई विषयले धेरै जटिलता उत्पन्न गरेको र पार्टी विभाजनकै अवस्था सिर्जना भएको एक स्थायी कमिटी सदस्यले बताएका छ ।

उनका अनुसार आज जसरी विषय उठेका छन, यो निकै गम्भीर छ । छिटै व्यवस्थापन नभए पार्टी फूट्न सक्ने उनको आँकलन छ । ओलीले बहुमत पुगे अन्यलाई कारवाही गर्न सक्ने उनको विश्लेषण छ ।

अरुको बहुमत पुगे दुवै पदबाट ओलीलाई हटाउने संभावना पनि रहेको सदस्यले बताउन थालेका छन । स्थायी कमिटी बैठक अघि र पछि ओलीले राष्ट्रपतिलाई भेटेको विषयलाई पनि असन्तुष्ट पक्षले पार्टी फुटको तयारीसँग जोडेर हेर्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्