राजनीति

संकटमा परेपछि प्रधानमन्त्री ओलीले फालेको पासा, यसरी गरे देशभक्त नेपालीको अपमान (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १५ गते २०:२५
संकटमा परेपछि प्रधानमन्त्री ओलीले फालेको पासा, यसरी गरे देशभक्त नेपालीको अपमान (भिडियोसहित)

१५ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार भारतले उहाँलाई हटाउन चाहेको छ । र, त्यसमा नेपालकै नेताहरु समेत सक्रिय छन । पार्टीको बैठकमा यसबारे कुनै चर्चा नगरेका प्रधानमन्त्री ओलीले एकाएक भारतले हटाउन खोज्यो भनेर बोलेपछि राजनीति तरंगित छ । तर यसले प्रधानमन्त्रीमाथि केही प्रश्न पनि उठाएको छ ।

‘भारतले सरकार ढाल्न खोज्यो, तर नेपाल निरीह छैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक आईतवार आफूलाई भारतले पदबाट हटाउन खोजेको दाबी गर्नुभयो । यसले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । किनकी सिधै भारतको नाम लिएर बोलेकोले अरु बेलाको भन्दा ओलीको अभिव्यक्ति नयाँ छ । तर यो ओलीले बारम्बार गर्दै आएको दाबीसँग मेल खान्न ।

ओलीले भन्दै आउनुभएको छ–नेपाल अहिले कमजोर छैन, नेपालको राष्टिय स्वाधीनता बलियो भएको छ ।’ यदि त्यसो हो भने भारतले त्यो हिम्मत कसरी गर्यो रु यसले स्वाभाविक रुपमा प्रश्न उठ्छ ओलीको ईशारा कतै निशाना कतै छ । त्यति मात्रै होईन कूटनीतिलाई आवेश, उत्तेजनामा होइन, मर्यादित र शिष्ट ढंगले अघि बढाउने भन्ने आफ्नै पुरानो अभिव्यक्ति र अडान पनि पछिल्लो अभिव्यक्तिसँग मिल्दैन ।

‘म हटेँ भने देशका लागि बोल्ने कोही हुन्न’
भारतमाथि निशाना साँध्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले पद छोडे देशका लागि बोल्ने कोही नहुने दावी गर्नुभयो । अर्थात उहाँ बाहेक देशको बारेमा सोच्ने कोही छैन रु के यही सत्य हो त रु विगतले त्यस्तो देखाउँदैन । ओली नै पनि कुनै बेला भारतसँग निकै निकट रहेका बेला राजनीतिक र जनस्तरबाट भारतीय हेपाहा प्रवृत्ति विरुद्ध धेरै नेता र जनस्तरबाट आवाज उठिरहेको थियो ।

महाकाली सन्धिकै बेला पनि ओलीले भारतीय स्वार्थकै पक्षपोषण गर्नुभएको जगजाहेर छ । पछिल्लो पटक मुलुकले लिएको अडान ओलीको एकल प्रयासमा भएको होइन । नक्सा प्रकरणमा त नेकपा सचिवालयले नै दबाब दिएर नीति तथा कार्यक्रममा थप्न लगाएको समेत पुष्टि भइसकेको छ । त्यसैले म बाहेक देशका बारेमा सोच्ने अरु कोही छैन भन्नु प्रधानमन्त्री ओलीको अहंकार, अज्ञानता र देशभक्तको अपमान हो ।

नेकपाकै नेतामाथि भारत परस्तको आरोप
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका बारेमा पार्टी बाहिरबाट मात्रै होईन, पार्टी भित्रै पनि प्रश्न छन । र, आफूलाई भारतले हटाउन खोजेको र त्यसमा नेपालकै नेता लागेको ओलीको आरोप यस्तो बेला आएको जति बेला नेकपाको स्थायी कमिटी बैठकमा सरकारको बारेमा समीक्षा हुँदैछ । पार्टी भित्रको समीकरणका कारण यो अभिव्यक्ति आएको सहजै अनुमान लगाउन सकिन्छ ।

खास गरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल हरुले प्रश्न उठाएका बेला यस्तो अभिव्यक्ति आउनु अर्थपूर्ण छ । यसको उद्देश्य आफ्नो विरोध गर्ने नेतालाइ भारतीय कित्तामा धकेलेर भारत परस्तको ट्याग लगाइ उनीहरुलाई रक्षात्मक बनाउनु रहेको प्रष्ट हुन्छ । आफू पछि जो कोही आए पनि त्यसले भारतकै ईशारामा काम गर्ने भन्नुले नेकपाकै नेता भारतको ईशारामा चलिरहेका छन भन्ने नै हो किनकी ओली हटेपनि आउने भनेको नेकपाबाटै हो । र यो आरोप सिधै नेकपाका अन्य शिर्ष नेतृत्वविरुद्द नै हो ।

दूतावासको सक्रियता र एक्सन
प्रधानमन्त्री ओलीको सिधा दावा छ–आफूलाई हटाउन काठमाण्डौ स्थित भारतीय दुताबास पनि सक्रिय छ, त्यसका लागि विभिन्न होटलमा छलफल भैरहेका छन । एउटा स्वाधीन र सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रधानमन्त्री एउटा भारतीय कर्मचारीसँग डराउनुभएको छ । होइन भने, सरकारविरुद्ध चलखेल गर्नेलाई बोलाएर सोध्नेदेखि फिर्ता पठाउन सक्नेसम्मको अधिकार प्रधानमन्त्रीसँगै छ ।

तर अचम्मको कुरा यसबारे उहाँले के गर्नुभयो रु त्यसको कुनै जानकारी छैन । बरु प्रधानमन्त्री ओलीको दूतका रुपमा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भारतीय दुताबास पुगेको स्वीकार गरिसक्नु भएको छ । र प्रश्न प्रधानमन्त्रीमाथि नै उठेको छ ।

सत्ता जोगाउने खेल
प्रधानमन्त्री ओलीलाई चतुर राजनीतिक खेलाडी मानिन्छ । सकभर अडानबाट पछि नहट्ने ओलीको बानी परिचित नै छ । तर जब अप्ठेरो पर्छ तब सकेसम्म विषयान्तर गर्न र नसके सम्झौता गर्न पनि उहाँ माहिर हुनुहुन्छ । भारतले हटाउन खोज्यो नेपाली नेताले पनि साथ दिए भन्ने ओलीको पछिल्लो अभिव्यक्ति संभवत त्यसैको संकेत हो ।

त्यसैले ओलीको अभिव्यक्तिलाई विश्लेषक र कुटनीतिज्ञले आफ्नै कार्यशैली र असफलताका कारण उत्पन्न सत्ता संकट पार लगाउने अस्त्र भनेका छन । यसमा दम पनि छ किनकी नयाँ नक्सा जारी गर्ने निर्णय राष्टिय सहमतिमा भएको हो । यसको विरोधमा कोही पनि छैन । आम सहमतिमा भएको विषयलाई फेरि अर्कै ढंगले प्रचार गर्नु र आफूलाई मात्रै राष्ट्रवादी ठान्नु प्रधानमन्त्री ओलीको सत्ता वचाउने खेलवाहेक केहि हुन सक्दैन । यो विषयलाइ नेकपाको स्थायी कमिटी बैठकले कसरी लिन्छ, त्यसमा भर पर्नेछ, किनकी ओलीले तत्काल सम्झौता गर्नुपर्ने ठाउँ त्यही हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्