राजनीति

मलाई हटाउन कसैले नसोचे हुन्छः प्रधानमन्त्री ओली (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १४ गते २०:०३
मलाई हटाउन कसैले नसोचे हुन्छः  प्रधानमन्त्री ओली (भिडियोसहित)

१४ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा छापेकै कारण भारतले पदबाट हटाउने खोजेको दावी गर्नुभएको छ । भारतको प्रयासमा नेपालका नेताहरू पनि लागेको ओलीको गम्भीर आरोप छ ।

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारत र नेपालमा आफ्ना विरोधी विरुद्ध फायर खोल्नुभयो । र, यसले भारतसँगको सम्बन्ध तत्काल नसुध्रिने प्रष्ट बुझिन्छ ।

लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई हटाउन खोजेको प्रधानमन्त्रीको ओलीको दावी छ । उहाँका अनुसार त्यसका लागि काठमाण्डौमा भारतीय दूताबासनै सक्रिय छ । ओलीले भारतीय संचार माध्यममा प्रसारण र प्रकाशन भैरहेका सामग्रीलाई पनि अगाडि सार्नुभयो । नेपालकै नेताहरु भारतको साथमा लागेकोमा प्रधानमन्त्रीको आक्रोश छ ।

नेपालले सीमा समस्या समाधानका लागि पटक पटक वार्तामा बस्न गरेको आग्रहलाई भारतले उपेक्षा गर्दै आएको छ । आफ्नो हेपाहा प्रवृत्ति देखाउँदै उसले अरुसित वार्ता गर्दा नेपालसँग गर्न चाहेको छैन । बरु उल्टै भारतमा प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने आवाज पनि उठिरहेका छन ।

यसलाई गम्भीरतापूर्वक नियालिरहेका प्रधानमन्त्री ओलीले पदबाट हटाउँछु भनेर नसोच्न भारतलाई सिधै जवाफ दिँदै नेपाल अहिले कमजोर छैन भन्नुभयो । पार्टीभित्र समेत उहाँको भूमिकालाई प्रश्न उठिरहेका बेला उही घानमा हालेर प्रधानमन्त्रीले प्रहार गर्नुभयो ।

त्यतिमात्रै होईन, आफूले छोडे भोलिदेखि नेपालको हितमा बोल्ने कोही नहुने दावी गर्दै कसैले आश गरे पनि र दबाब दिए पनि पद नछोड्ने प्रष्ट पार्नुभयो । पार्टीको स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो पार्टी यस्तो काममा नलाग्ने विश्वास व्यक्त गर्नुभयो । यसले प्रधानमन्त्रीलाई आफ्नै पार्टीप्रति पनि अविश्वास छ भन्ने संकेत गर्छ ।

भारत र नेपालमा आफ्ना विरोधीमाथि आक्रोश पोखेका प्रधानमन्त्री ओलीले पछाडि फर्कन नयाँ नक्सा नल्याएको पनि प्रष्टिकरण दिनुभयो । वार्तामा बस्न नमानेको भारतलाई उहाँले प्रष्ट सन्देश दिनुभयो–अब पछाडि फर्किने ठाउँ छैन, नेपाललाई आफ्नो भूमि चाहिन्छ । ’

आफ्नो पदलाई लिएर प्रधानमन्त्री ओलीको अप्रत्याशित अभिव्यक्ति आएको हो । सिधा अर्थमा हेर्दा यो प्रष्ट अडान जस्तो पनि लाग्छ । तर कतिपयले यसलाई विषयान्तर गर्ने र सरकारमाथि प्रश्न उठाउनेहरुको मुख थुन्ने प्रयास भनेका छन । यो आशंकालाई प्रधानमन्त्रीले कसरी निवारण गर्नुहुन्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्