Main News

कर्णालीमा २६, गण्डकीमा ३२ र सुदूरपश्चिम प्रदेशमा थपिए २२१ कोरोना संक्रमित

हिमालय टिभी
२०७७ असार १३ गते ८:१७
कर्णालीमा २६, गण्डकीमा ३२ र सुदूरपश्चिम प्रदेशमा थपिए २२१ कोरोना संक्रमित

१३ असार, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको छ। पछिल्लो समय कर्णालीमा २६, गण्डकीमा ३२ र सूदूरपश्चिम प्रदेशमा २२१ जना कोरोना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिममा थप २२१ सङ्क्रमित
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक, दार्चुलामा तीन, बझाङमा नौ, बजुरामा २७, बैतडीमा २५ र अछाममा दुई जना थप सङ्क्रमित फेला परेको पुष्टि भएको हो । प्रदेशमा शुक्रबारसम्म सबैभन्दा बढी कैलाली जिल्लामा ५५३ जना सङ्क्रमित पुगेका छन् ।

कञ्चनपुरमा ३०४, अछाम १०८, बैतडी २०२ बझाङ ६५, बाजुरा १२८ डडेलधुरा २१९, दार्चुला १६ र डोटी जिल्लामा २६२ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट बिहीबारसम्म कूल एक लाख १९ हजार ७६१ जनाको जाँच गरिएकोमा प्रभावकारी मानिएको पिसिआर पद्धतिबाट मात्रै १५ हजार ३१९ जनाको जाँच गरिएको छ ।

प्रदेशको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्तिको अभाव र कम क्षमता भएको मेशिनका कारण धेरै शङ्कास्पद व्यक्तिको स्वाबको नमूना जाँच गर्न नसकी थन्किएका छन् । पछिल्लो पटक प्रदेशमा सङ्कलन भएको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ ।

सङ्क्रमितमध्ये बिहीबार मात्र विभिन्न जिल्लाका गरी ६८ जना घर फर्किनुभएका छन् । सङ्क्रमितको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेसन उपचार भइरहेको छ । अस्पतालको आइसोलेसनमा रहेका १२३ जना रहेकोमा धेरै सङ्क्रमित स्थानीय तहको आइसोलेसनमा छन् । यसबाहेक कोरोनाका शङ्कास्पद थप १८ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । प्रदेशमा हालसम्म ५२८ जना सामान्य उपचार पछि घर फर्किएको जनाइएको छ ।

कर्णाली २६ सङ्क्रमित थपिए
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा १२ सुर्खेत, पाँच दैलेख, तीन सल्यान, दुई जाजरकोट र एक मुगु गरी २३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो ।

त्यसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ११ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यान शारदा नगरपालिकाका तीन, जाजरकोट शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका एक जना गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआर परीक्षणमा काठमाडौँ टोखा नगरपालिकाका एक, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक र जुम्ला सिञ्जा गाउँपालिकाका एक गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो । यतिबेलाको पिसिआर परीक्षणमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी देखिएकाले कोरोना सङ्क्रमण समुदायमा फैलिएको बताइएको छ ।

कोरोना सङ्क्रमण जितेर घर फर्कनको सङ्ख्या हालसम्म ७२० पुगेको महाशाखाले जनाएको छ । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको जनाइएको छ ।

गण्डकीका तीन जिल्लामा थपिए ३२ कोरोना संक्रमित
गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । यसँगै संक्रमितको संख्या ८३८ पुगेको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परी क्षणमा बाग्लुङ, स्याङ्जा र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का व्यक्तिमा संक्रमण पुष्टि भएको हो।

बाग्लुङको ढोरपाटन नगरपालिकाका एक पुरुष र काठेखोला गाउँपालिकाका सात पुरुषमा संक्रमण देखिएको हो। यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक पुरुष, विरुवा गाउँपालिकाका एक पुरुष र अर्जुनचौपारी गाउँपालिका १२ महिलो बालकसहित १३ पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो। यस्तै, वालिङ नगरपालिकाका एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण देखिएको हो ।

वालिङ नगरपालिका र हुप्सेकोट गाउँपालिकाका व्यक्तिहरु आइसोलेसनमै रहेका छन्। अन्य संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *