राजनीति

वैवाहिक अंगीकृत नागरिकताका विषयमा सांसदहरुबीच चल्यो जुहारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ९ गते १९:५८
वैवाहिक अंगीकृत नागरिकताका विषयमा सांसदहरुबीच चल्यो जुहारी (भिडियोसहित)

९ असार, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले नागरिकता विधेयकले राजनीतिक मुठभेड निम्त्याउने भनेर दिएको चेतावनीको सत्तारुढ नेकपाले कडा प्रतिवाद गरेको छ ।

राष्टियसभामै बोलेर कांग्रेस र जसपाका सांसदले चेतावनी दिएपछि नेकपाका सांसदले पनि राष्टिय सभाबाटै जवाफ फर्काएका छन । कांग्रेसले चीन परस्त भन्दा नेकपाले कांग्रेसले भारत परस्त भनेको छ ।

वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने गरी संसदीय समितिबाट नागरिकता विधेयक पारित भएपछि नेपाली कांग्रेस कति आक्रोशित छ भन्ने कांग्रेस सांसद जितेन्द्र नारायण देवको अभिव्यक्तिले प्रष्ट पार्छ । कांग्रेसमात्रै होईन, जनता समाजवादी पार्टी पनि उत्तिकै आक्रोशित छ ।

र, मधेशमाथि प्रहार भएको भारतसँग सम्बन्ध बिगार्न खोजेको र चिनीयाँ पोल्टामा गएको सरकारमाथि उनीहरुको आरोप छ । आईतवार कांग्रेसका देव र जनता समाजवादीका मृगेन्द्रकुमार सिंह यादवलाई ध्यानपूर्वक सुनेका नेकपाका सांसद डाक्टर बेदुराम भुसालले कडा जवाफ फर्काउनुभयो ।

सरकारले अहिले जे जे गरिरहेको छ, त्यो सबै चीनतिरै ढल्केर गरेको भन्ने कांग्रेस सांसदहरुको आरोप छ । र, यसलाई उनीहरुले संसददेखि सडकसम्म उठाईरहेका छन । जुनकुरा नेकपालाई निक्कै बिझेको छ । त्यसैले नेकपा सांसद भुसालले कांग्रेसमाथि गम्भीर प्रश्न उठाउँदै भारतपरस्त भएको आरोप लगाउनुभयो ।

त्यतिमात्रै होईन, सात वर्षे हदले सांस्कृतिक र सामाजिक अधिकार अतिक्रमण गर्न खोजियो भनेर कांग्रेस र जनता समाजवादीले गलत प्रचार गरेको नेकपाको तर्क छ । अंगीकृत नागरिकता नपाउँदासम्म दिईने स्थायी आवासीय पत्रले राजनीतिक र प्रशासनिक अधिकार दिएकोले कुनै समस्या नहुने नेकपा सांसदको तर्क छ ।

कांग्रेस र जनता समाजवादी सात वर्षे हद किन भनिरहेका छन र ०६३ को सहमति तोडिएको आरोप लगाईरहेका छन । नेकपा देशको हितका लागि नै सात वर्षे हद राखिएको भनिरहेको छ । तर पछिल्लो पटक जनता समाजवादीका सांसद सरिता गिरिको भूमिकाले पनि यसमा राम्रै भूमिका खेलेको छ भन्ने नेकपाकै सांसद रामनारायण बिडारीको कुराले प्रष्ट पार्छ ।

कांग्रेस र जनता समाजवादी सात वर्षे हद सच्याउनुपर्ने र नेकपा यो व्यवस्था ठीक भएकोले अघि बढाउनुपर्ने पक्षमा प्रष्ट छन । यसले केही समय नेपालको राजनीति यही नागरिकताको वरिपरि घुम्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्