Main News

उत्पादन भएका नर्स विदेश निर्यात, देशमा जनशक्ति अभाव (भिडियो रिपोर्टसहित)

२०७९ चैत ६ गते २०:५२
उत्पादन भएका नर्स विदेश निर्यात, देशमा जनशक्ति अभाव (भिडियो रिपोर्टसहित)

६ चैत २०७९ काठमाडौं । नेपालमा स्वास्थ्यको जनशक्ति उत्पादन राम्रै भए पनि सेवा प्रवाहमा भने समस्या छ । अस्पतालहरुमा थोरै चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने र थोरै नर्सले धेरै बिरामीको सेवा गर्नुपर्ने अवस्था फेरिएको छैन ।

वर्षेनी ठूलो संख्यामा देशभित्र र बाहिरबाट ठूलो जनशक्ति उत्पादन भए पनि यो जनशक्ति पलायन हुने क्रम बढ्दो छ । त्यसमाथि नर्स त सरकारले नै निर्यात गर्न थालेको छ । जसका कारण नेपालमा स्वास्थ्य सेवा प्रभावकारी भइरहेको त छैन नै नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हकसमेत हनन् भइरहेको छ ।

नेपाल नर्सिङ परिषद्का अनुसार हाल नेपालमा १ लाख १५ हजार नर्स छन् । पीसीएल, बीएससी, ब्याचलर अफ मिडवाइफि साईन्स, मास्टर इन नर्सिङ पढाउने १४७ कलेजबाट वार्षिक ३ हजार ४५८ नर्स उत्पादन हुने गर्छन् ।
यीमध्ये अधिकांश नर्सको लक्ष्य हुन्छ पास आउट हुनासाथ वैदेशिक रोजगारीको यात्रा ।

विदेश जानको लागि नो अब्जेक्सन लेटर लिन मात्रै दैनिक २० देखि ५० नर्स नेपाल नर्सिङ परिषद पुग्ने गर्छन् । नेपालमै रोजगारी नपाउनु र पाए पनि निकै कम तलब भत्तामा काम गर्नुपर्ने भएकाले पछिल्लो समय नर्सहरुको विदेशप्रतिको आकर्षण बढ्दो छ ।

अहिलेसम्म नेपालबाट झण्डै ४० हजार नर्स रोजगारीका लागि विदेश पलायन भइसकेका छन् ।

विदेश गएकामध्ये
अमेरिकामा १६,२४०
अष्ट्रेलियामा ९,८८०
दुबईमा १,८६०
बेलायतमा ४८०
राष्ट्र संघीय मिसनमा १३०
कतारमा १७०
जर्मनी, भारत, कुवेत, हङकङ, माल्दिभ्स, क्यानडा, न्यूजील्यान्ड लगायत देशमा गरी हालसम्म ३९ हजार ८ सय ८ नर्स वैदेशिक रोजगारीमा गएका छन् ।

अन्तराष्ट्र्रिय नर्सिङ परिषद् र विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव भएको भन्दै नेपाललाई स्वास्थ्यको रेड जोनमा राखेको छ । त्यसैले अन्य देशमा स्वास्थ्यकर्मी नपठाउन आग्रह गरिरहेको छ । तर सरकारले भने जीटूजी सम्झौता गरेरै नर्सको निर्यात गर्न थालेको छ ।

स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभाव पूर्तिका लागि सरकारले आफ्नो देशमा उत्पादन भइरहेका नर्स लगायत स्वास्थ्यकर्मीलाई देशमै रोजगारीको ग्यारेन्टी गर्नुपर्थ्यो । तर आफ्नै देशमा अभाव हुँदाहुँदै विदेश पलायन हुन गरिरहेको प्रोत्साहनले एकातिर देशको स्वास्थ्य समस्या जटिल बन्दै गएको छ भने अर्कोतिर स्वास्थ्य क्षेत्रको अध्ययन नै वैदेशिक रोजगारमुखी बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *