राजनीति

प्रचण्डको दौडः भाषणका लागि मात्र, काम शून्य (भिडियो रिपोर्टसहित)

२०७९ माघ २१ गते १८:२१
प्रचण्डको दौडः  भाषणका लागि मात्र, काम शून्य (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि बोलेकामध्ये महत्वपूर्ण अभिव्यक्ति हो–यो कार्यकालमा भाषणलाई भन्दा कामलाई प्राथमिकता दिने ।

उहाँले यो अभिव्यक्ति प्रायः सार्वजनिक कार्यक्रममा दिइरहनुहुन्छ । तर, उहाँले यो अभिव्यक्ति कार्यान्वयन भने गर्नुभएको छैन । बरु यो अभिव्यक्तिलाई नै धज्जी उडाउने गरी सार्वजनिक कार्यक्रममा सहभागिता जनाइरहनुभएको छ ।

तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा भाषणलाई भन्दा कामलाई आफूले प्राथमिकता दिने सार्वजनिक घोषणा गर्नुभयो । प्रधानमन्त्री बनेपछि उहाँ हरेक जसो सार्वजनिक कार्यक्रममा भन्नुहुन्छ–ुम अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’ तर उहाँले प्रधानमन्त्री बनेपछि गरेका गतिविधिसँग यो कुराले मेल खाँदैन ।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएपछि उहाँ स्थानीय तहका जनप्रतिनिधिले नै फत्ते गर्दा हुने सार्वजनिक कार्यक्रमलाई समेत समय दिइरहनुभएको छ । वितेको एक सातामा उहाँले गरेको गतिविधिले पनि उहाँले दिएको अभिव्यक्तिलाई गिज्याइरहेको छ ।

यस्तो छ बितेको एक सातामा प्रधानमन्त्री प्रचण्डको सार्वजनिक कार्यक्रम दौडाहा
–माघ २१ गते आदिवासी जनजाती आयोगको वार्षिकोत्सवमा सहभागि, आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको अभिव्यक्ति
–माघ २० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माध्यमिक विद्यालयको वार्षिकोत्सवमा सहभागी । शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्ने घोषणा
–माघ १९ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रम उद्घाटन । स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्ने अभिव्यक्ति
–माघ १८ गते सिंहदरबारमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण, सूचनाको हकले मुलुकमा सुशासन कायम हुने प्रतिक्रिया
–माघ १७ गतेको सिंहदरबारमा बसेको एक बैठकमा सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने घोषणा, सोही दिन नेपाल टेलिभिजनको वार्षिकोत्सवमा बोल्दै आजको युग डिजिटल एराको रुपमा संश्लेषण गर्न सकिने अभिव्यक्ति
–माघ १६ गते शहीद दिवसको अवसरमा लैनचौरमा रहेको शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी, शहीदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड
–माघ १५ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको वार्षिकोत्सवमा सहभागी हुँदै केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकसित गर्ने घोषणा

यी त एक साताका सार्वजनिक कार्यक्रम मात्रै भए । प्रधानमन्त्री भएपछि प्रचण्डले सहभागिता जनाउनुभएको कार्यक्रम र अभिव्यक्तिको लेखाजोखा गर्ने हो भने त अझै लामो छ ।

यसबाहेक विभिन्न देशका राजदुतसँगको भेटघाटमा पनि प्रधानमन्त्रीले समय खर्चनुभयो । राष्ट्रपति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नल्याउने बारेका छलफलमा पनि उहाँले समय व्यतित गरिरहनुभएको छ । यसरी कथनी र करणीमा तालमेल नै नमिलाउने भए सार्वजनिक कार्यक्रममा किन भाषण कम काममा ध्यान भन्ने अभिव्यक्ति दिनुहुन्छ प्रधानमन्त्री भन्ने प्रश्न उहाँलाई तेर्सिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्