Main News

मुलुकभर आइसोलेसन र क्वारन्टिनको व्यवस्था गर्ने सीसीएमसीको निर्णय

हिमालय टिभी
२०७७ साउन २६ गते ८:१४
मुलुकभर आइसोलेसन र क्वारन्टिनको व्यवस्था गर्ने सीसीएमसीको निर्णय

२६ साउन, २०७७ काठमाडौं । सरकारले मुलुकभर आइसोलेसन र क्वारन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को हिजो साँझ बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ ।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको सचिव गुरागाईले जानकारी दिनुभयो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी तथा व्यवसायी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *