आयोगको निर्देशनपछि झनै चर्कियो ‘नो नट अगेन’ अभियान, कसले चलाइरहेको छ अभियान? (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सामाजिक सञ्जालमा ‘नो नट अगेन’ को चर्चा छ । आगामी निर्वाचनबाट पुराना नेताहरुलाई बिदा गरौँ भन्ने सन्देश दिन यो अभियान चलाइएको दाबी छ ।
यो अभियानले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले केही दिनअघि नो नट अगेनको फेसबुक पेज बन्द गर्न निर्देशन नै दिएको थियो, तर आयोगको निर्देशनपछि अभियान झनै चर्किएको छ । के गरिरहेको छ नो नट अगेन अभियानले, कसले चलाइरहेको छ यो अभियान ?
नो नट अगेन नाममा फेसबुक र ट्विटरमा चलिरहेको यो अभियानले प्रमुख दलका शीर्ष तथा प्रभावशाली नेतारुलाई फेरि नजिताउँ भन्ने अभियान चलाइरहेको छ । नो नट अगेन नाम दिएर विभिन्न नेताहरुको पोस्टर बनाइ उनीहरुबारे विभिन्न टिप्पणी सहितका पोस्टर फेरि भोट नहाल्न आह्वान गरिएको छ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृतका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत प्रमुख दलका अरु प्रभावशाली नेताहरुलाई अब स–सम्मान बिदाइ गरौँ भनिएको छ ।
यसरी बिदाइ गरौँ भनिएका नेतामा निर्वाचन नलडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई, कांग्रेस नेता रामशरण महतदेखि, कांग्रेस महामन्त्री गगन थापा, एमाले नेता लालबाबु पण्डितलगायत छन् ।
कतिपय सूचनामा कमजोर देखिएको र कतिपय निर्वाचन क्षेत्रमा स्थापित दलहरुका भरोसायोग्य तथा यसअघि सरकारमा हुँदा राम्रो काम गरेर चर्चा कमाएका नेताहरुलाई पनि नजिताउँ भन्ने अभियान चलाएको नो नट अगेन कुनै पनि उम्मेदवार वा पार्टीको प्रचारमा भने देखिँदैन ।
तर स्वतन्त्र पार्टी, स्वतन्त्र उम्मेदवार तथा लौरो अभियान चलाइरहेका व्यक्तिहरु नै यो अभियान सक्रिय बनेका छन् । मंसिर ४ को निर्वाचन प्रभावित पार्ने गरी यो अभियान चलाइरहेको पाइएको छ ।
चुनाव चिह्न लौरो भएको हाम्रो नेपाली पार्टीसहित थुप्रै यस्ता उम्मेदवारहरु यो अभियानमा जोडिएका छन् । जसले पुरानालाई बिदाइ गरौँ भनिरहँदा नयाँ उम्मेदवारका योग्यता र विशेषताबारे मौनता देखाइरहेका छन् ।
वर्षौँदेखि सत्तामा रजगज गरेर पनि उल्लेखनीय काम गर्न नसकिरहेका नेतालाई बिदाइ गरौँ भन्ने अभियान सकारात्मक भए स्वतन्त्र वा नयाँ पार्टीहरुबाट प्रभावित भएको अभियान निस्पक्ष देखिन नसकेको भन्दै आलोचना हुन थालेको छ ।
प्रतिक्रिया