Main News

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ साउन २१ गते ८:५८
आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

२१ साउन २०७९ काठमाडौं । आज प्रदेश १ र बागमती प्रदेशका विभिन्न भू–भागमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको हुँदा प्रदेश १ र बागमती प्रदेशका भू–भागमा पानी पर्ने बताएको हो ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सामान्य बदली रही मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।

देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले देशका पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुँदा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *