निजगढ विमानस्थल निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

१८ असार २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमा विमानस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सत्तारुढ दलका शीर्ष नेतासहित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको हवाई निरीक्षणमा पुगेका प्रधानमन्त्री देउवाले कम क्षतिमा जसरी पनि विमानस्थल निर्माण पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले निजगढमा दुईवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको भन्दै काठमाडौं निजगढ फास्ट ट्रयाक डीपीआरमै निजगढ विमानस्थलको आवश्यकतालाई ध्यान दिएर तयार पारिएको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिंदै प्राकृतिक स्रोत साधनको कम क्षतिसहित विमानस्थल बनाउनु पर्ने बताउनुभयो ।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गर्नु पर्ने बताउनुभयो ।
वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्चको फैसला आएपछि शीर्ष नेताहरूले निजगढ विमानस्थल निर्माणक्षेत्रको अवलोकन गरेका हुन् ।
प्रतिक्रिया