समाज

प्रदुषण र मानवीय अतिक्रमणको चेपेटामा त्रिशूली नदी

२०७९ जेठ २० गते १७:२०
प्रदुषण र मानवीय अतिक्रमणको चेपेटामा त्रिशूली नदी

२० जेठ २०७९ धादिङ । त्रिशूली नदी प्रदूषण र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म सफा पानी बग्ने त्रिशुली नदीमा अहिले सङ्लो पानी देख्न मुस्किल पर्छ ।

बालुवा, गिट्टी लगायतका नदीजन्य पदार्थको अनियन्त्रित दोहन त छँदैछ प्रदुषणको पनि शिकार बन्दैछ, त्रिशुली ।

पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ गाउँपालिकाको शितलबजार क्षेत्रमा फालिएको फोहोर । यहाँ मात्र हैन, गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा यसरी नै फोहोर फालिएको छ। राजमार्ग, वरपरका बजार र बस्तीबाट निस्किने फोहोरको उपयुक्त व्यवस्थापन नहुँदा यो सबै फोहोर त्रिशूली नदीमा मिसिने गरेको छ ।

नदी किनारामा संचालन गरिएका क्रसर, फिरफिरे, एस्काभेटर र बालुवा पखाल्ने उपकरणबाट निस्कने पानी सिधा त्रिशूलीमा मिसाउँदा नदी सङ्लो देखिँदैन । वातावरणीय प्रभाव मूल्याकंन बिना जथाभावी रुपमा नदीजन्य पदार्थको उत्खनन् पनि नदी सफा नहुनुको मुख्य कारण हो ।

नदी दिनप्रतिदिन प्रदुषित बन्दै गएको भएपनि रोकथामका लागि सम्बन्धित निकाय गम्भिर नबनेको स्थानीयको गुनासो छ ।

स्थानीय सरकार भने त्रिशूली नदीको सफाइ प्राथमिकतामा रहेको बताउँछ । आफूहरुले निरन्तर पहल गरेपनि स्थानीयको साथ सहयोग विना समस्या समाधान नहुने पालिकाको भनाइ छ ।

नदी प्रदुषित बन्दै जाँदा जलचर प्राणीमा प्रत्यक्ष असर त परेको छ नै सँगै नदीलाई आधार बनाएर जिविकोपार्जन गर्ने पेशा र व्यवसायीलाई पनि समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *