Main News

सरकार जवाफ चाहियो: खोइ लाखौँ मात्रा खोप ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ५ गते १९:५१
सरकार जवाफ चाहियो: खोइ लाखौँ मात्रा खोप ? (भिडियो रिपोर्टसहित)

५ माघ २०७८ काठमाडौं । हाल कोरोनाविरुद्धको खोप अभियान जारी छ । अहिलेसम्म ४० प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् भने बाँकी ६० प्रतिशत खोपको प्रतिक्षामा छन् ।

यहीबीचमा सरकारले बुस्टर डोजसमेत दिन शुरु गरिसकेको छ । खोप अभियानलाई रफ्तारमा सञ्चालन गरिरहेको सरकारको रेकर्डमा लाखौं खोप हराएपछि आलोचना शुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले नै २० देखि २५ लाख मात्रा कोरोनाविरुद्धको खोपको रेकर्ड राख्न नसकिएको कुरा बताएसँगै त्यो खोप कहाँ गयो भन्ने प्रश्न उठेको छ । यो प्रश्न उठेसँगै खोपको दुरुपयोग भएको स्पष्ट देखिन्छ ।

जनस्वास्थ्यविद् मरासिनीले भने जस्तै, खोप विभिन्न दाता र खरिद मार्फत् सरकारको हातमा पर्‍यो । सरकारले प्रदेश हुँदै स्थानीय तहसम्म खोप पुर्‍यायो । तर पहुँचमा रहेका मन्त्रीदेखि नेता, चिकित्सक, स्वास्थ्यकर्मीले आफन्तका लागि भन्दै थर्काउँदै वा घुर्काउँदै खोप आफ्नो कब्जामा पारे । कतिपयले हजारौं रुपैयाँमा खोपको विक्रीवितरण गरेको खुलासासमेत सरकार आफै गर्छ ।

सरकारले प्रमाण भेटेको छ । होटल होटलमा कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई प्रहरीले पक्राउ गरेको खबर पनि हामीले सुनेकै छौं । घरघरमा आफन्तका लागि भन्दै कोसेली स्वरुप खोप लानेहरुको सरकारसँग रेकर्ड हुने कुरै भएन । खोपको विषयमा यसरी लापर्वाही हुँदै गर्दा, खोप केन्द्रमा नै पुगेर खोप लगाएकाहरुको पनि सरकारले राम्रोसँग रेकर्ड राख्न सकेन । किन ?

सरकारले अहिले स्वास्थ्य सूचना प्रणालीमार्फत् खोपको रिपोर्टिङ गरिरहेको छ । यो जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ । तर व्यवस्थित प्रणाली नहुँदा अब पनि खोपको विषया सही रिर्पोटिङ आउन कठिन रहेको कुरा खोप अधिकृत भण्डारी बताउनुहुन्छ ।

मंगलबार स्वास्थ्य सचिव पोखरेलले भने जस्तै २० देखि २५ होइन, १५ लाख खोपको रेकर्ड सरकारले राख्न नसकेको स्वीकार गर्छ ।
अहिलेसम्म ४ करोड ३८ लाख ८ हजार ८ सय ४० मात्रा खोप खरिद र अनुदानमा ल्याएको छ । यी मध्ये १५ लाख खोपको रेकर्ड सरकारसँग नै नहुँनु लज्जाको कुरा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *