Main News

देशका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ पुष २३ गते ९:२०
देशका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना

२३ पुस २०७८ काठमाडौं । आउँदो हप्ता देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

बुधबारदेखि देशका धेरै ठाउँको मौसम बदलीसँगै केही ठाउँमा वर्षा र हिमपात गराएको प्रणाली भोलिसम्मै सक्रिय हुने र आज रातिदेखि अर्को प्रणाली पनि नेपाल भित्रने देखिएकाले आउँदो हप्ता मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात पनि हुने देखिएको छ ।

यस्तै राति प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

राति नेपाल प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव तुलनात्मक रुपमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखिने उहाँको भनाइ छ ।

पर्सि आइतबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन/चटयाङसहित पानी पर्ने सम्भावना देखिएको भन्दै सावधानी अपनाउन मौसमविद् प्रधानाङ्गले आग्रह गर्नुभएको छ ।

उहाँले वर्षा र हिमपात हुने भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *