कांग्रेस महामन्त्रीमा तीन युवा थापा, शर्मा र पौडेलबीच भिडन्त निश्चित (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीमा तीन युवा नेताहरुबीच टकराव निश्चित भएको छ । आज कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेलले महामन्त्रीका उम्मेदवारी दर्ता गराएका हुन् । विश्व,गगन र प्रदीपको राजनीतिक सहकार्यदेखि प्रतिस्पर्धासम्म केके भयो त ?
कांग्रेसभित्र पुस्तान्तरणको चर्चा हुँदा आउने नाम हुन् विश्वप्रकाश, गगन र प्रदीप । उनीहरुको राजनीतिमा उदय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाटै भएको हो । नेविसंघभित्रको राजनीतिमा प्रदिप र गगन विश्वप्रकाश शर्मा गुटकै सदस्य थिए ।
प्रदिप र गगनलाई नेविसंघभित्र बलशाली बनाउन नेविसंघ अध्यक्षका रुपमा शर्माको भूमिका रह्यो । नेविसंघमा पटक पटक उपाध्यक्ष भएका प्रदिपभन्दा महामन्त्री रहेका गगन थापा राष्ट्रिय राजनीतिमा चर्चामा रहे । सँगसँगै आन्दोलनको मोर्चामा र प्रहरी हिरासतमा रहेपनि ०६२/६३ को जनआन्दोलनमा प्रदिप भन्दा गगन स्थापित हुन पुगे ।
विश्वप्रकाशको विद्यार्थी राजनीतिको विरासत यीनै पौडेल र थापाको काँधमा थियो । ०६५ सालमा नेविसंघको चितवन महाधिवेशनमा थापा र पौडेल दुवै सभापतिका दाबेदार बने । जनआन्दोलनको रापतापमा गगनको क्रेज देखिएपनि विश्वप्रकाशको सक्रियतापछि पौडेलको पल्लाभारी भयो । गगन पनि पौडेललाई नेता मान्न तयार भए ।
सिद्धार्थ वनस्थलीमा अध्ययन गर्दा आफुलाई पौडेलले नै पहिलोपटक नेविसंघको सदस्यता दिएकोले आफ्नो ‘राजनीतिक गुरु’ भन्दै थापाले पौडेलको पक्षमा मत मागे । पौडेल लोकप्रिय मतका साथ नेविसंघको सभापति बने ।
चितवनबाट फर्किएपछि थापा नेविसंघको राजनीति छाडेर काठमाडौं ४ मा कांग्रेस क्षेत्रीय सभापति बने । शर्मा जिल्लाकै राजनीतिमा क्रियाशिल हुन थालिसकेका थिए ।
कांग्रेसको १२औं महाधिवेशनमा थापा सर्वाधिक मतका साथ केन्द्रिय सदस्य बने पनि पौडेल झिनो मतान्तरले पराजित भए । उता, झापा जिल्ला सभापतिमा शर्मा पराजित भए ।
नेविसंघमा सबैभन्दा अगाडीका नेता शर्मा र पौडेल भन्दा अगाडी थापा केन्द्रिय समितिमा पुग्न सफल भए । १३औं महाधिवेशमा थापा महामन्त्रीमा पराजित हुँदा पौडेल र शर्मा केन्द्रिय सदस्य निर्वाचित भए । उनीहरुले पार्टीभित्र मात्र होइन योबिचमा आम निर्वाचनमा पनि अवसर पाए । झापाबाट २ पटक शर्मा संसदीय निर्वाचनमा पराजित बन्दा थापा काठमाडौं ४ बाट २ पटक निर्वाचित भइसकेका छन् ।
पौडेल भने तनहुँ प्रदेश सभामा झिनो मतान्तरले पराजित भए । कुनै बेला कांग्रेसभित्र कोइराला समुहमा रहेका तीनै नेता १३औं महाधिवेशनमा आइपुग्दा दुई ध्रुवमा बाँडिए । पौडेल र थापा सिटौला समुहमा पुग्दा शर्मा देउवा क्याम्पमा पुगे । देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएपछि शर्माले आफ्नो प्रभाव विस्तारको अवसर पाए ।
१४औं महाधिवेशनमा आइपुग्दा देउवा समुहमै रहेका शर्मा देउवाको छनौटमा नपर्दा सिटौला समूहको जोडबलमा पौडेल देउवा क्याम्पसको महामन्त्री उमेदवार बन्न पुगेका छन् ।
उता, थापा शेखर कोइरालाको समूहबाट र शर्मा प्रकाशमान सिंहको समुहबाट महामन्त्रीमा उमेदवार छन् । जिल्ला जिल्लाबाट आएको कांग्रेस अंकगणितलाई हेर्दा कांग्रेसभित्र बढी चर्चामा रहेका थापा र शर्मालाई पछि पार्दै पौडेल बलियो देखिन पुगेका छन् ।
२ जना महामन्त्री निर्वाचित हुने कांग्रेसमा पौडेल सेफ जोनमा देखिँदा संस्थापन टिममै अटाउने ठानिएका शर्मा र बलियो ठानिएका गगन संकटमा परेका छन् । शर्मा,थापा र पौडेलमध्ये १४औं महाधिवेशनमा कसले बाजी मार्ला ? त्यसका लागि भने कांग्रेस महाधिवेशनको नतिजा कुर्नैपर्ने हुन्छ ।
प्रतिक्रिया