Main News

कोरोनाले खल्लो पारेको पोहोरको दशैं बिर्साउने यो वर्षको दशैं (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २९ गते २०:०३
कोरोनाले खल्लो पारेको  पोहोरको दशैं बिर्साउने यो वर्षको दशैं (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । बडादशैंको मुख्य दिन आज टीका र जमरा लगाएर हर्सोल्लासका साथ मनाइएको छ । आफन्त र मान्यजनबाट टीका जमरा लगाई आर्शिवाद लिएर दशैं मनाइएको छ ।

विगतमा प्राय सुनसान रहने काठमाडौंका सडक तथा चोकमा टीका लगाउन मान्यजनको संख्या यो वर्ष धेरै देखियो । गत वर्ष कोरोना संक्रमणदर उच्च भएर खल्लो बनेको दशैं यो बर्ष कोरोनाको जोखिम कम भएपछि टीका थाप्न पाउँदा हर्षित भएका छन् ।

काठमाडौं उपत्यकामा आज रातो टीका र पहेँलो जमरामा सजिएर मान्यजनकोमा टीका लगाउने जानेहरुको संख्या ठूलै देखियो । पोहोरसाल कोरोना कहरले समेत गर्दा सुनसान जस्तो भएको काठमाडौंको दशैं यो बर्ष उल्लासपूर्ण रह्यो ।

आफ्नो घरमा शुभसाइतको टीका लगाएर मान्यजन तथा आफन्तको टीका लगाउन हिडेका सर्वसाधारण निकै हर्षित छन् ।

परिवार तथा आफन्त जमघट भई मनाइने हुनाले दशैंको विशेष अर्थ रहन्छ । घरबाट रोजगारी, पढाई लगायत कारण टाढा भएकाहरु पनि घर फर्कने गर्छन् । तर बाध्यतावश घर फर्कन नपाएकालाई प्रविधिको सदुपयोग गर्दै सामाजिक सञ्जालको माध्यमबाट आर्शिवाद दिने गरेका छन् ।

केहीले भने आफन्त गुमाएको तथा केहीले घरमा भर्खरै नयाँ सदस्यको आगमन भएकाले यो वर्षको टीका लगाउन नपाएकोमा दुःख समेत व्यक्त गरेका छन् ।

सुख, शान्ति, समृद्धि तथा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने पर्वको रुपमा दशैंलाई लिने गरिन्छ । जुनसुकै जातजाति, वर्ग, वर्ण र क्षेत्रमा रहेका नेपालीले टीका र जमरा लगाएर हर्षोल्लासका साथ मनाउने यो पर्वले भाइचारा र आपसी सम्बन्ध प्रगाढ बनाउने हुँदा यसको विशेष महत्व छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *