Main News

फुटपाथको व्यापार : कसैलाई मस्ती कसैलाई सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २४ गते १४:५१
फुटपाथको व्यापार : कसैलाई मस्ती कसैलाई सास्ती (भिडियो रिपोर्टसहित)

२४ असोज २०७८ काठमाडौं । काठमाडौंका सडक छेउमा वर्षौदेखि फुटपाथ पसलहरु सञ्चालन हुँदै आएका छन् । काठमाडौंका व्यस्त सडक छेउमै राखिएका यस्ता पसल छोटो बाटोबाट पैसा कमाई जिविकोपार्जन गर्ने माध्यम बनेका छन् ।

अर्कातिर बाटो हिड्नका लागि भनेर बनाइएका फुटपाथलाई व्यापारको थलो बनाउँदा बाटो हिंड्ने बटुवालाई भने निकै सास्ती भएको छ । महानगरले यस्ता पसल बेला बेलामा बल प्रयोग गरेर हटाउने खेल पनि खेलिरहेको छ । तर यो खेल त्यति अनुशासित र प्राभावकारी भने देखिँदैन ।

काठमाडौं महानगरपालिकाका व्यस्त बजारका विभिन्न ठाउँमा लामो समयदेखि फुटपाथ पसल चलिरहेका छन् । फुटपाथमा पसल राख्ने र हटाउने नगर प्रहरीको लुकामारी पनि लामो समयदेखि नै चलिरहेको छ । नगर प्रहरी शहरी सुव्यवस्था कायम गर्न भनेर फुटपाथका पसलहरु बल प्रयोग गरेर हटाउँछ । अनि फुटपाथमा पसल राख्नेहरु आफ्नो र परिवारको पेट पाल्नका लागि भन्दै फुटपाथमा पसल राख्नैपर्ने बाध्यता भएको दाबी गर्छन । महानगरले सामान जफत गरेर लिलाम गर्छ । यसमा व्यापारीहरुको तीब्र असन्तुष्टि छ । महंगो सटर भाडा तिर्न नसकेर फुटपाथमा व्यापार गर्नु परेको व्यापारीको दाबी छ ।

फुटपाथमा गरिने व्यापारले पैदलयात्रीलाई निक्कै सास्ती हुने गरेको छ । उनीहरु पनि फुटपाथमा हुने व्यापारको विकल्प खोज्नु पर्ने सुझाव दिन्छन् ।

फुटपाथमा व्यापार गर्नेहरु पनि पैदलयात्रीको अपशब्द र नगर प्रहरीको हैरानीबाट मुक्ति चाहन्छन् । त्यसका लागि सरकारले उचित ठाउँको व्यवस्थापन गरिदिनु पर्ने उनीहरुको माग छ ।

फुटापथ व्यापारले शहरी सौन्दर्यलाई बिगारेको र आवागमनलाई बाधा पुर्‍याएकाले व्यापारीहरुको सामान बलपूर्वक उठाउनु परेको नगर प्रहरीको भनाइ छ । नगरी प्रहरी प्रमुख धनपति सापकोटा फुटपाथबाट जफत गरिएको सामान लिलाम समितिलाई बुझाउने आफ्नो कर्तव्य र जिम्मेवारीभित्र पर्ने व्याख्या गर्नुहुन्छ ।

महानगरमा व्यवसाय गर्न र आफ्नो भविश्य खोज्ने अधिकार सबैलाई भए पनि कानूनी दायरामा रहन नगर प्रहरीको चेतावनी छ ।

महानगरभित्र सहरी सुव्यवस्था कायम गरेर सभ्य, सुसंस्कृत र व्यवस्थित महानगर निर्माण गर्न र पैदल यात्राकै लागि बनाइएको फुटपाथलाई व्यापारको थलो नबनाउन महानगरको आग्रह पनि छ । अनि महानगर फुटपाथ हटाउने आफ्नो नीति कार्यान्वयन गरेर छाड्ने दाबी गर्छ ।

सुविधा, सुरक्षा र सुन्दर भविष्यको कल्पना गर्दै शहर पसेर जिविकोपार्जन गर्न खोज्नु नराम्रो हैन । व्यापारीसँगै जोडिएका परिवारको सपना निमोठ्नु अघि महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई उचित समय र स्थानमा व्यवस्थापन गर्नु जरुरी छ ।

महानगरले आफ्ना प्रहरी खटाएर कार्यालय समयमा मात्रै अनुगमन गरेर फुटपाथ व्यापारीलाई लछारपछार गरेर जिम्मेवारी पूरा भएको ठान्नु भन्दा वैकल्पिक व्यवस्था गर्नु उचित हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *