राजनीति

माधव नेपालमाथि देशद्रोहीको आरोप, पार्टीमा कुनै ठाउँ नभएको अध्यक्ष ओलीको घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते १४:५३
माधव नेपालमाथि देशद्रोहीको आरोप, पार्टीमा कुनै ठाउँ नभएको अध्यक्ष ओलीको घोषणा (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राख्नु भएको छ ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको बैठकमा बोल्दैै उहाँले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाउनु भएको हो ।

“बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने ।” अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, “यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन ।”

उहाँले माधव नेपाल पक्षका अन्य नेताहरुलाई भने पार्टीमा आउन पुनः आह्वान गर्नु भयो । “अरु साथीहरु गल्ती महशुस गरेर फर्कनु हुन्छ भने हामी मौका दिन्छौं । आउनुहोस्– यो पार्टी हामी सबैैले बनाएका हौं ।” अध्यक्ष ओलीले थप्नुभयो, “गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं ।” उहाँले माधव नेपाल पक्षका नेताहरु नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरुका लागि नरहेको दावी गर्नु भयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावीसमेत गर्नु भयो । पार्टीमा खुट्टा तान्ने तत्वहरु अब पार्टीभित्र नरहेकाले बहुमत ल्याउन सकिने उहाँको तर्क थियो ।

“अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं । किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन् । अगाडि बढ्न खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन् उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने ।”

उहाँले भन्नुभयो, “ अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।” अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गर्नु भयो ।

उहाँले भन्नुभयो, “अब यस पार्टीले आगामी निर्वाचनमा सशक्त हैैसियत विजयका साथ देखाउनु पर्नेछ । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, स–साना कुराहरुमा नअल्झिकन, आन्तरिक मनमुटाव नराख्न, म कहाँ परे, मेरो पद कहाँ प¥यो भन्ने भन्ने कुरामा ध्यान नदिई उपयुक्त ढंगले कार्य विभाजन गर्न, उपयुक्त ढंगले उम्मेदवार चयन गर्न र एकतावद्ध अनुशासित ढंगले पार्टीलाई अघि बढाउन हामी सबैको योगदान चाहिन्छ ।”

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश व्यक्त गर्नु भयो । जाली, कीर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालहरुले सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैैध भएको दावी गर्दै उहाँले त्यस्तो अवैैध, कीर्ते, जाली, अनुशासनहीन काम गर्नेलाई कारवाही गर्नुपर्नेमा अदालतले कारवाही गर्न पाइँदैन भनेर फैसला गरेको भन्दै आपत्ति जनाउनु भयो ।

“जाली, कीर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालले अवैध काम गरेर सरकार ढाल्यो । त्यस्तो काम संसदीय व्यवस्थामा अनुशासनहीन काम हो । त्यो कारवाही गर्नुपर्ने विषय हो ।” अध्यक्ष ओलीले अदालतको फैसलाप्रति कटाक्ष गर्दै भन्नु भयो, “त्यस्ता तत्वलाई कारवाही गर्न पाइँदैन् अदालतले भन्छ । यही व्याख्या सधैं चल्छ त ?” अदालतले दलको ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गर्नेहरुलाई पनि कारवाही नगरेकोमा अध्यक्ष ओलीको आपत्ति थियो ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको दावी समेत गर्नु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउन नेपाली जनताले फेरि पनि आफ्नो पार्टीलाई बहुमत दिने दावी समेत गर्नु भयो ।

प्रतिक्रिया

One thought on “माधव नेपालमाथि देशद्रोहीको आरोप, पार्टीमा कुनै ठाउँ नभएको अध्यक्ष ओलीको घोषणा (भिडियो रिपोर्टसहित)

  1. कति अरुलाई भन्न सकेको नकटो भन्छन नेपालि थेट शब्दमा भनौ भने ओअनि हजुरबुबा जस्तो नभनौ भने यति सम्म भन्न्न सक्ने लाज नभएको मैले के गरेको थिए भनेर र नसोच्ने उस्ले गरेको सबै राम्रो हुने अरुले राम्रो गरेको फिटिकक्कै देख्न नसक्ने उस्ले गरेका काम सबै कानुन सम्बत हुने उहि कानुनबिद उहि विद्वान उहि अदालत जस्तो गर्ने उसले गरेको असम्बैधानिक कार्यलाई पनि पनि सबैले मान्दिनु पर्ने।कहि नभयेको हाडि गाउँमा जस्तै छ।अजै पनि उसैका कुरा ठुलो गर्छ अदालतलाई समेत छोडदैन के उस्लाई कुनै कानुन लाग्दैन सबै भन्दा माथी हो।अजै मै जङ्ग बहादुर हुम भन्न छोडेन त हो येसलाई कोसि मओ बगाउन पर्ने जस्तो देखछु मत।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्