भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग्दै यातायात व्यवसायीले दिए धर्ना

२९ असार २०७८ काठमाडौं । भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् ।
व्यवसायीले यातायातसँग सम्बन्धित व्यक्तिलाई खोप लगाउनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीका समस्या समावेश गरिनुपर्ने लगायतका माग राखेर धर्ना दिएका हुन् ।
बीमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी नीति पुनरावलोकन गर्नुपर्ने उनीहरुको माग छ ।
सुनुवाइ नभएपछि धर्ना दिनुपर्ने अवस्था आएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताउनुभयो ।
यातायात व्यवसायीले बैंकको ज्यादती बन्द गर, निषेधाज्ञा अवधिभरको विमा पूर्ण रुपमा छुट गर लगायतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।
यातायात व्यवसायीले लकडाउनका कारण व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया