Main News

सप्तकोशी नदीको बहाव यो वर्षकै उच्च, ५६ मध्ये २८ वटा ढोका खोलियो

हिमालय टिभी
२०७८ असार १९ गते ८:३५
सप्तकोशी नदीको बहाव यो वर्षकै उच्च, ५६ मध्ये २८ वटा ढोका खोलियो

१९ असार २०७८ काठमाडौं । निरन्तरको बर्षा जारी रहेसगै सप्तकोशी नदीको बहाव यसवर्षकै उच्च भएको छ ।

आज बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । कोशीमा पानीको बहाव यो बर्षकै उच्च हो ।

गएराति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भिषण वर्षाका कारण सहायक नदीमा समेत बाढी आउँदा कोशीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।

बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २८ वटा ढोका खुला गरिएको छ ।

शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खोलिएको थियो । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् ।

पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयका घर डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेका कारण कोशीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले पानीको सतह अझै बढ्नसक्ने भएकाले सप्तकोशी क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको जानकारी दिनुभयो ।

बाढीका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ ।

बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ । त्यसपछि नदीको दक्षिण भेगतिर बसोबास गर्नेलाई सचेत र सतर्क गराइने प्रहरीले जनाएको छ ।

रातो बत्तीले पनि खतराको सङ्केत गर्ने भएकाले सबैलाई सावधानी अपनाउन सजिलो हुने गरेको छ ।

सप्तकोशीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन गर्ने गरिएको छ । सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *