Main News

मन्त्री बन्न बालुवाटारमा जसपा ठाकुर समूहका नेताहरुको लर्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २१ गते १४:५६
मन्त्री बन्न बालुवाटारमा जसपा ठाकुर समूहका नेताहरुको लर्को (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ ।

दुई नेताबीच ठाकुर समूह सरकारमा जाने र कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल केन्द्रित छ । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको जसपाले प्रधानमन्त्रीले प्रस्ताव गरेका मन्त्रालय हेरफेरको माग गरेको छ ।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्यन, खानेपानी तथा सरसफाइ, भूमिसुधार, श्रम तथा रोजगार, महिला बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण र युवा तथा खेलकूद मन्त्रालय लिन प्रस्ताव गर्नुभएको छ ।

जसपा नेताहरूसँग सोमबार भएको छलफलमा पूर्व माओवादी खेमाले सम्हालेका मध्ये गृह बाहेकका मन्त्रालय लिने सहमति भएको नेताहरूले बताएका छन् । पूर्व माओवादीले लिएकामध्ये उद्योग वाणिज्य तथा आपूर्ति र ऊर्जा मन्त्रालयमा जसपाले दाबी गरेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि जसपाले मागेको छ । सहमति अनुसार जसपाले राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी र अनिल झालाई लगायतलाई सरकारमा पठाउने तयारी गरेको छ ।

जसपा सरकारमा सहभागी हुने भएपछि एमालेका तर्फबाट मन्त्री बनेका केहीको जिम्मेवारी हेरफेर र केही बिदा हुने सम्भावना छ । मन्त्रालयमा सहमति जुटेमा मन्त्रीहरूको शपथ आजै हुने सम्भावना छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *