महामारीमा चुनाव मानवीय संवेदनाहीन क्रुरता भएको विवेकशील साझा पार्टीको आरोप

९ जेठ २०७८ काठमाडौं । विवेकशील साझा पार्टीले कोभिड(नाइन्टिले देश अक्रान्त भइरहेका बेला चुनाव घोषणा गर्नुलाई मानवीय संवेदनाहीन क्रूरता भनेको छ।
विवेकशील साझा पार्टीको केन्द्रीय समितिको आज बसेको बैठकले औषधि, अक्सिजन, अस्पताल–शैया नपाएर नागरिक रोइरहेका बेला संसद् विघटन गरेर चुनाव घोषणा गर्नु कतैबाट पनि उचित नभएको निष्कर्ष निकालेको हो ।
यो कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै आकांक्षाको सुनियोजित निरन्तरता भएको पनि पार्टीले आरोप लगाएको छ ।
मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र नभई, प्रमुख प्रतिपक्षीसहित संसद्का दल पनि त्यत्तिकै जिम्मेवार रहेको उसको आरोप छ ।
विवेकशील साझा पार्टीले प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठपूर्ण ढङ्गबाट लोकतन्त्रविरुद्ध गरिरहेको निरन्तर प्रहारको एकबद्ध भएर विरोध गर्न सबैलाई आह्वान पनि गरेको छ ।
प्रतिक्रिया