Main News

संसद विघटन गरेर चुनाव गर्ने निर्णयको विपक्ष दलहरुको विरोध, कांग्रेसले बोलायो पदाधिकारी बैठक

हिमालय टिभी
२०७८ जेठ ८ गते ८:५५
संसद विघटन गरेर चुनाव गर्ने निर्णयको विपक्ष दलहरुको विरोध, कांग्रेसले बोलायो पदाधिकारी बैठक

८ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर माध्यावधि निर्वाचनमा जाने सरकार र राष्ट्रपतिको कदमको विपक्षी दलहरूले विरोध गरेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारको यो निर्णयमा आफूहरूको असहमति रहेको जानकारी दिँदै आगामी रणनीति पार्टीको अब बस्ने बैठकले तय गर्ने बताउनुभयो ।

नेपाली काँग्रेसले पनि यो कदमको विरोध जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि निर्वाचन दिइएको भन्दै जनताको साथ र समर्थनमा लोकतन्त्र अनि संविधानलाई पुनर्जीवन दिइने उल्लेख गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको सिफारिसमा मध्यावधि चुनाव घोषणा गर्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको टिप्पणी गर्नुभएको छ । डा भट्टराईले यो कदमको प्रतिवाद गर्नसमेत आह्वान गर्नुभएको छ । यद्यपी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले सरकारको कदममा समर्थन जनाउँदै आएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ मा दोस्रो चरणको निर्वचनको घोषणा गर्नु भएको थियो । गएको मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गरेको दावी अस्वीकार गरेपछि मन्त्रिपरिषद्को बैठक गएराति बसेको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदका लागि देउवा र ओलीले पेश गरेको दावी अबेर राति अस्वीकार गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

यसैबीच प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएपछिको रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेसले छलफल गर्न लागेको हो । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान ९ बजेका लागि बोलाइएको बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

नेता प्रकाशसरण महतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको कदम र भावी रणनीतिका बारेमा बैठकमा छलफल हुनेछ । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीमा हिजो दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *