Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि लम्बियो

हिमालय टिभी
२०७८ वैशाख २१ गते १६:०८
काठमाडौं उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि लम्बियो

२१ वैशाख २०७८ काठमाडौं । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आगामी २९ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको आज बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यसअघि बैशाख १६ गते देखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

संक्रमणको दर बढ्दै गएको तथा आन्तरिक हवाई उडान आज रातिदेखि र बाह्य उडान पनि बिहीबार रातिदेखि बन्द भएको अवस्थामा उपत्यकाभित्रका तीन जिल्लामा पनि २९ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वय गरेर सहयोग गर्न सुरक्षा निकायका साथै स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उहाँले बताउनुभयो । उहाँले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सतर्कता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपील गर्नुभयो ।

विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दूरी कायम गरेर गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतलाई पासको व्यवस्था गरेर सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजीकरण गर्ने, सम्बन्धित संचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

मृत्यु संस्कार र बिरामी लिएर जिल्लाबाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *