Main News

राष्ट्रपति भण्डारीद्वारा वैशाख २७ गतेका लागि संसद अधिवेशन आव्हान

हिमालय टिभी
२०७८ वैशाख १९ गते २०:१२
राष्ट्रपति भण्डारीद्वारा वैशाख २७ गतेका लागि संसद अधिवेशन आव्हान

१९ वैशाख २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गर्नु भएको थियो ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने जानकारी गराउनुभएको हो ।

अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता नलिए पनि आफ्नो सरकारलाई समर्थन छैन भनेपछि सरकार अल्पमतमा रहेको टिप्पणी भैरहेको छ ।

प्रधानमन्त्रीले पटक पटक माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती दिएपनि माओवादी केन्द्रले समर्थन नगरेकाले फिर्ता लिनुनपर्ने तर्क गरिरहेको छ ।

प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको छ । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन लिनुपर्छ ।प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *