Main News

स्वास्थ्य मन्त्रालयले भन्यो–संक्रमण बढ्दै गए अस्पतालमा बिरामी राख्ने ठाउँ पुग्दैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते १८:४२
स्वास्थ्य मन्त्रालयले भन्यो–संक्रमण बढ्दै गए अस्पतालमा बिरामी राख्ने ठाउँ पुग्दैन (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्दै गए अस्पतालमा बिरामी राख्ने ठाउँ नपुग्ने भन्दै जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अपिल गरेको छ ।

सुरक्षा मापदण्ड पालना नभए भारतमा जस्तै भयावह अवस्था आउन सक्ने सरकारले चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर संक्रमण फैलिन नदिनका लागि सबैलाई जिम्मेवार हुन अपील गरेको हो । संक्रमणको चक्र रोक्न नसकेर यही गतिमा फैलिँदै गए अस्पतालमा ठाउँ नहुने भन्दै मन्त्रालयले सबैको गम्भीर ध्यानाकर्षण गरेको छ ।

व्यक्तिव्यक्तिबाट निर्वाह हुने भूमिकालाई विचलित हुन नदिन मन्त्रालयको अपील छ । हिमालय टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले स्थिति भयावह हुन सक्ने भन्दै सचेत रहन अपील गर्नुभयो ।

यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेकै गतिमा कोरोना संक्रमण फैलिँदै गए गाह्रो पर्न सक्ने भन्दै सचेत रहन अपील गर्नुभएको छ । अहिलेको अवस्था नियन्त्रणका लागि आवश्यक सामग्री भए पनि बढेमा समस्या पर्ने बताउनुभयो ।

संभावित जोखिमलाई ध्यानमा राखेर सरकारले उपचारका लागि चाहिने आवश्यक सामग्री ल्याउनका लागि काम गरिरहेको पनि जानकारी दिनुभयो ।

नेपालका विभिन्न स्थानमा भारतमा जस्तै संक्रमितको उपचार तथा हेरचाहमा समस्या आउन थाल्दा पनि संक्रमण रोकथाम गर्न सक्ने भूमिकाको निर्वाह नभएको स्वास्थ्य मन्त्रालयको गुनासो छ । मास्क लगाउन, भौतिक दूरी कायम गर्न र हातको सरसफाईमा ध्यान दिन सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *