Main News

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाखभित्रै विद्युत उत्पादन शुरु गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते १४:०२
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाखभित्रै विद्युत उत्पादन शुरु गर्ने (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ ।

संसदको अर्थ समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराउनुभएको हो । उहाँले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा शैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने बताउनुभयो । यसरी आगामी भदौ महिनाभित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी बैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौं ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शुरु गर्ने रहेपनि शैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको बताउनुभयो ।

वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत उत्पादन शुरु हुँदा शैशाख ३१ गते सम्भव हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘शैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन शुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्वीच गरेर शैशाख ३१ गते आशा गर्दैछौं । तर अहिलेको तालिका अनुसार जेठ २ गते भनेर गरेका छौं । त्यस हिसाबले पहिलो युनिट आइसकेपछि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्तसम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ ।’

आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू एक दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताउनुभयो । साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन शुरु भइसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *