Main News

रात्रिकालीन व्यवसाय र रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

हिमालय टिभी
२०७७ चैत २५ गते १८:५७
रात्रिकालीन व्यवसाय र रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

२५ चैत २०७७ काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक र व्यावसायिक क्षेत्रमा कडाइ शुरु गरेको छ । यस्तै स्वास्थ्य मन्त्रालयले कोरोनाको वेलायती भेरियन्ट फैलिएको समेत जनाएको छ ।

मन्त्रालयले आज सूचना निकालेर रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना नगरेकै कारण देश भर कोरोना संक्रमण फैलिन थालेको भन्दै रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन लागिएको जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

यसैगरी ठूला शहरमा ५ सयभन्दा बढी र साना शहरमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई भनेको छ । विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयले तीनै तहका सरकारलाई भनेको छ ।

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेको जनाउँदै शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *