Main News

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज श्रीलंकाको राजधानी कोलम्बोमा शुरु हुँदै

हिमालय टिभी
२०७७ चैत १९ गते ९:०४
बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज श्रीलंकाको राजधानी कोलम्बोमा शुरु हुँदै

१९ चैत २०७७ काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग बिमस्टेकको १७औँ मन्त्रीस्तरीय बैठक आज श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ ।

बैठकको अध्यक्षता श्रीलंकाका परराष्ट्रमन्त्रीले गर्नेछन् भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुन्छ । बैठक दिउँसो ३ बजे भर्चुअल रूपमा बस्नेछ ।

हिजोको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको थियो । बैठकले आजको भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड छन् । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । हिजोको बैठकमा म्यान्मारको नरसंहारको विषय भने उठेन ।

सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बङ्गाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो । आज बस्ने मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या समाधानका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन बिमस्टेकका प्राथमिकताका क्षेत्र हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *