Main News

काठमाडौंको आकाशमा आँखा पोल्ने तुवाँलो, हवाई उडान प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते १७:०९
काठमाडौंको आकाशमा आँखा पोल्ने तुवाँलो, हवाई उडान प्रभावित (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । काठमाडौंको आकाशमा आँखै पोल्ने बाक्लो तुवाँलो लागेको छ ।

आज बिहानैदेखि काठमाडौंको आकाशमा तुवाँलोले ढाकेको हो । मेचीदेखि महाकालीसम्मकै चुरेदेखिमाथि हिमाली क्षेत्रसम्मकै जंगलमा डढेलो लागेका कारण अधिकांश आकाश धुवाँले ढाकेको तस्बिर नासाले सार्वजनिक गरेको छ । आसपासका जंगलमा पनि डढेलो लागेका कारण काठमाडौं उपत्यकामा पनि प्रदुषण बढेको हो ।

काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले प्रदुषणले जोखिमको तह नाघेको जनाएको छ ।

मुलुकका धेरै स्थानमा एकैपटक डढेलो लागेको र लामो समयदेखिको खडेरीका कारण वायुमण्डलमा प्रदूषण बढेको हो । अहिले ५४ जिल्लाका ४ सय ३७ भन्दा बढी स्थानमा डढेलो लागेको छ ।

तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान समेत अवरुद्ध भएका छन् । भिजिविलिटी कम हुँदा काठमाडौंसँगै भरतपुर, सिमरा लगायतका स्थानमा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

धुवाँसहितको वायु प्रदूषणका कारण आँखा चिलाउने, खोकी लाग्नेलगायतका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । यस्ता समस्याबाट बच्न घरभित्रै सुरक्षित बस्न विज्ञले आग्रह गरेका छन् ।

काठमाडौंमा सबैभन्दा धेरै असर ुलाङटाङ निकुञ्जमा लागेको डढेलोको धुवाँले असर पारेको छ । प्रदूषणमा धुवाँ मिसिएकाले बाहिर निस्कदा आँखा पोलेको
हो ।

वायु प्रदूषणका कारण खासगरी फोक्सो, मुटु र दिमागमा असर पर्ने चिकित्सकले जनाएका छन् । वर्षा नभएसम्म प्रदुषण नघट्ने विज्ञको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *