जसपाले राख्यो सहकार्यका लागि माओवादी केन्द्रसामू यस्तो तीन शर्त

२६ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीले सहकार्यका लागि माओवादी केन्द्रसँग तीन वटा शर्त राखेको छ ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो बटम लाइन प्रष्ट पार्नुभएको हो ।
नेता महतोले रेशम चौधरीको रिहाई, अरु नेता कार्यकर्तामाथिको मुद्दा खारेजी र संविधान संशोधनका लागि तयार भए सहकार्य हुने आफ्नो प्रस्ताव राखेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीसँग पनि आफूहरुले यही शर्त राखेको र जसले माग पुरा गर्छ त्यसैसँग सहकार्य हुने बताएको महतोले जानकारी दिनुभयो । माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा भएको भेटमा प्रचण्डले आफ्ना मागबारे सकारात्मक जवाफ दिएको तर विश्वास गर्ने अवस्था भने नरहेको महतोले बताउनुभयो ।
भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रचण्डले मिलेर सरकार बनाउन सके जसपाले अघि सारेका सबै माग सम्बोधन गर्न कुनै अप्ठ्यारो नभएको बताउनुभएको छ ।
भेटमा नेता महतोले कम्युनिस्ट नेतृत्वको दुई तिहाइको सरकार हुँदा किन केही नगरेको भनेर थप प्रश्न गरेपछि प्रचण्डले केपी ओलीका कारण गर्न नसकेको जवाफ दिनुभएको थियो ।
प्रचण्डले कांग्रेससँग पनि सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभएको थियो । यसअघि प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट्नुभएको थियो ।
प्रतिक्रिया