राजनीति

आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते १२:५८
आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताउनुभएको हो ।

सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन संविधान मिच्दैन मिच्न दिँदैन जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन भ्रष्टाचार गर्दैन र गर्न दिँदैन सुशासन कायम गरेर छोडछ अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाइ दिदीबहिनीहरुलाई आस्वस्त पार्न चाहन्छु । ’

जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘लोकतन्त्रलाई बिना व्यवधान र बिना विकृति अगाडि बढाउनका लागि लोकतन्त्रभित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाउन, लोकतन्त्र जनताको आकांक्षा र अभिमतबाट सञ्चालित हुन सकुन् त्यस अभिप्रायले र अस्थिरता लोकतन्त्रभित्रैबाट प्रणालीभित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न र कुबाटोतिर लोकतन्त्रलाई धकेल्ने चेष्टाहरुलाई अगाडि जान नदिन अहिले मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ ।’

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रहसमेत गर्नुभयो । देशलाई अस्थिरताबाट जोगाउन जुन अभिमतद्धारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत ढंगले देशलाई अगाडि बढाउन ताजा जनादेश आवश्यक भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नयाँ निर्वाचनको तयारीका लागि म आग्रह गर्न चाहन्छु सबै निकायहरुले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्नुपर्दछ । कुनै पनि हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलापहरु कहिँबाट पनि हुनुहुँदैन । निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनुपर्दछ । देशलाई अस्थिरताबाट जोगाउने र स्वस्थ जनअभिमतद्धारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत ढंगले अगाडि बढ्ने बाटो ताजा जनादेश नै हो ।’

प्रधानमन्त्री ओलीले सनातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा काम गर्न, स्वार्थहरुमा एकतावद्ध भएर अगाडि बढ्न सबै राजनीतिक पक्षहरुलाई आग्रह गर्नुभएको छ । अझैपनि शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नसकेका पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनसमेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘म सबैलाई आग्रह गर्न चाहन्छु हाम्रा सानातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हित र स्वार्थहरुमा एकतावद्ध भएर अगाडि बढौं । शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनका निम्ति पनि अझै पनि यस धारमा समाहित नभइसकेका या हुन नसकिरहेका कतिपय पक्षहरुलाई पनि म यस अवसरमा संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन हार्दिक आग्रह गर्न चाहन्छु ।’

पूर्वाधार र विकासका क्षेत्रमा भएका कामहरुबाट देशको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ती उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्न र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नका लागि सुशासन र विकासको बाटोबाट सरकार अगाडि बढ्ने अथक प्रयास गरिरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यस बीचमा हामीले विभिन्न क्षेत्रमा गरेका उपलब्धीहरु पूर्वाधारका क्षेत्रमा गरेका उपलब्धी अथवा विकासका क्षेत्रमा गरेका उपलब्धीहरु शिक्षाका क्षेत्रमा होस स्वास्थ्यका क्षेत्रमा होस आर्थिक समृद्धिका क्षेत्रमा होस विकासका विभिन्न क्षेत्रहरुमा गरेका उपलब्धीहरु असाधारण छन् । ती उपलब्धीहरुबाट सिक्दै तीनको रक्षा गर्दै हामी अझ अगाडि बढ्नु परेको छ । आज हामीले हाम्रो राष्ट्रिय आकांक्षालाई समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा यो राष्ट्रिय आकांक्षा हामीले भनेका छौं र यसलाई साकार पार्नका लागि सुशासन र विकासको बाटोबाट हामी अगाडि बढ्ने अथक प्रयास गरिरहेका छौं । ’

विगत सात दशकमा राष्ट्रियतालाई सबल र सुदृढ गर्ने कुरामा, समाजिक न्याय र समानताका क्षेत्रमा भएका प्रयास, देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने र लोकतन्त्रका मूल्य मान्यताहरुलाई स्थापित गर्ने सन्दर्भमा असाधारण उपलब्धीहरु हासिल भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘इतिहासको यस गतिशिल यात्रामा हामीले विगत सात दशक राष्ट्रियतालाई सबल र सुदृढ गर्ने कुरामा सामाजिक न्याय र समानतातर्फको हाम्रो प्रयास र यात्रामा र देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने सन्दर्भमा लोकतन्त्रका मूल्य र मान्यताहरु स्थापित गर्ने सन्दर्भमा असाधारण उपलब्धीहरु हासिल गरेका छौं ।’

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेपछि पनि अन्यथा बाटोबाट अगाडि बढ्न सकिन्छ की भन्ने प्रवृतिहरु हावी हुन खोजेको बताउनुभयो । यस्ता कुराहरुमा सरकार सतर्क रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो देशमा अहिले पनि लोकतन्त्र आइसकेपछि पनि यति लामो बलिदानपूर्ण संघर्ष हामीले गरेर लोकतान्त्रिक प्रणाली र विधिको साशन स्थापना गरिसकेपछि पनि अझै पनि अन्यथा बाटोबाट अगाडि बढ्न सकिन्छ की भन्ने अथवा अन्यथा बाटो रोज्ने प्रवृतिहरु छ । हामी यस्ता कुराहरुबाट सतर्क रहनुपर्दछ र लोकतन्त्रभन्दा लोकतान्त्रिक प्रणाली भन्दा शान्तिपूर्ण राजनीतिको मूलधारभन्दा अर्को उपयुक्त बाटो हुन सक्दैन भन्नेकुरा हामी सबैले महसुस गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले अर्को वर्षसम्म नेपाल अल्पविकशीत राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्नुपर्ने भएकाले धेरै कामहरु गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्