Main News

ओली समूहको दावी– हामीले मान्यता पायौं, आयोग भन्छ– ‘होइन, प्रक्रिया नै शुरु भएको छैन’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १६ गते २०:४०
ओली समूहको दावी– हामीले मान्यता पायौं, आयोग भन्छ– ‘होइन, प्रक्रिया नै शुरु भएको छैन’ (भिडियो रिपोर्टसहित)

१६ माघ २०७७ काठमाडौं । आफूले आधिकारिकता पाएको भन्ने नेपाल कम्यूनिष्ट पार्टी नेकपाको ओली समूहको दावीको निर्वाचन आयोगले खण्डन गरेको छ । प्रक्रिया शुरु नहुँदै ओली समूहले आयोगले मान्यता दियो भनेपछि आयोगले त्यसको खण्डन गरेको हो । नेकपाको आधिकारिता विवाद समाधान गर्ने प्रक्रियामै प्रवेश नगरेको आयोगले प्रष्ट पारेको छ ।

पछिल्लो समय हरेक दिनजसो हुने कार्यक्रममा नेकपाका दुवै समूहले नेकपाको लिगेसी आफूँसँग रहेको दाबी गर्दै आएका छन् । शुक्रबार आयोग पुगेका ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ्ले त आयोगले निर्णय गरिसकेको र आफ्नो समूहले आधिकारिकता पाइसकेको दावी गर्नुभयो ।

यसो भनिरहँदा उहाँमा निकै आत्मविश्वासी भाव देखियो । अरुले त थाहा नपाएका मात्रै हुन सबै भैसक्यो भन्ने नेम्वाङको आशय छ । तर नेम्वाङले भने जस्तो आयोगमा आधिकारिकताको विषय प्रवेश नै गरेको छैन । अर्थात निर्वाचन आयोगमा अहिलेसम्म त नेकपाको कुनै पनि पक्षले पार्टीको नाम, चिन्ह, झण्डा, विधान आदिमा हकदाबी गरेको छैन । न सूर्य मेरो हो भनेर हरेकदिन जसो बोल्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्ष त न प्रचण्ड–नेपाल समूह नै । निर्वाचन आयोगका अनुसार आयोगमा परेको निवेदन विवरण अध्यावधिक मात्रै हो ।

प्रचण्ड–नेपाल समूहको दावी पनि ‘आफूनै आधिकारिक हुँ’ भन्ने छ र त्यसका लागि बहुमत आफूसँग रहेको तर्क अघि सारेको छ । र यसका लागि आयोगले चाँडो प्रक्रिया थालोस् भन्ने उसको माग छ ।

तर दुवै समूहले नेकपाको आधिकारिकतालाई लिएर आआफ्नो कोणबाट दाबी गरिरहँदा आयोग भने त्यसको निरुपणका लागि दुवै पक्षले नै दाबी गर्नुपर्ने बताउँछ । दाबी नपरेसम्म आयोगले नेकपा फुटेको मान्दैन । र कुनै पक्षलाई आधिकारिकता पनि दिँदैन र अहिलेसम्म दिएको पनि छैन । हामी आधिकारिक भैसक्यौं भन्ने ओली समूहको दावीको पनि उसले खण्डन गरेको छ ।

तर पुस ५ गते प्रतिनिधिसभा विघटनपछि उत्पन्न विवाद झण्डै डेढ महिना हुन लाग्यो । यस्तोमा धेरैले ऐनको दफा ४४ मा रहेको ३० दिनभित्र दाबी पेश गर्ने हदम्याद सकिएको र माघ १२ गते आयोगले गरेको निर्णयनै अन्तिम भएको बताइरहेका छन् । तर आयोग भने विवादनिरुपणको निवेदन परेपछिमात्र कसरी अगाडि बढाउने भन्ने योजनामा छ ।

निर्वाचन आयोगको कुरा मान्ने हो भने कुनै एक पक्षले आधिकारिकता दाबी नगरेसम्म नेकपा फुटेको हो भन्ने ऐनले मान्दैन । तर दुबै समूह आफैं आधिकारिक हौं र पाउँछौं भनिरहेका छन् । यस्तोमा निर्वाचनको तयारीमा होमिएको आयोगले देशकै ठूलो पार्टीभित्रको विवाद कसरी निरुपण गर्छ हेर्न बाँकी नै छ ।
भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *