Main News

सरकारको राम्रो कामः ३ सयभन्दा बढी आधारभूत अस्पताल बनाउन शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १५ गते २०:३०
सरकारको राम्रो कामः ३ सयभन्दा बढी आधारभूत अस्पताल बनाउन शुरु (भिडियोसहित)

१५ मंसिर, २०७७ काठमाडौं । स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमै राखिएको छ । तैपनि नागरिकले उपचार नपाइ अकालमै ज्यान गुमाउनु परेको छ । सानोतिनो उपचारका लागि पनि शहर धाउनु पर्ने बाध्यता छ ।

यो बाध्यता अन्त्य गर्ने भन्दै अघिल्लो सरकारले २०७४ साल बैशाखमा सबै स्थानीय तहमा १५ सैयाको अस्पताल र सातै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो । त्यसको साढे ३ वर्षपछि अहिले त्यो निर्णय कार्यान्वयनमा गएको छ । र सरकारले आज ३ सय भन्दा बढी आधारभूत अस्पतालको शिलान्यास गरेको छ ।

देशभरका ३ सय ९६ वटा स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभुत अस्पताल निर्माण शुरु गरेको छ । यीमध्ये ३ सय ९ वटाको शिलान्यास गरिएको छ । अन्यको पनि केही हप्ताभित्रै निर्माण शुरु हुने सरकारको दाबी छ ।

सरकारले अस्पताल नभएका ६ सय ४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा निर्माण थालेको छ । संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयनका लागि अस्पताल निर्माण शुरु गरिएको सरकारको भनाइ छ ।

जनसंख्या, स्थानीयबासिन्दाको माग र सरकारको रणनतीति अनुसार ५२ ठाउँमा ५ शैयाका, १ सय ९ ठाउँमा १० शैयाका र २ सय ३५ ठाउँमा १५ शैयाका अस्पताल बनाइने छ ।

प्रदेश १ मा सबैभन्दा बढी ८६, लुम्बिनी प्रदेशमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३(५३, बागमती प्रदेशमा ५१ र कर्णालीमा ४२ वटा स्थानीय अस्पताल निर्माण हुनेछ । ३ सय ९६ वटा आधारभुत अस्पतालका लागि सरकारले झण्डै ५८ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

यस्तै प्रदेशमा बन्ने सरुवा रोग अस्पतालका लागि ८ करोडका दरले बजेट छुट्याइएको छ । आवश्यकता अनुसार बजेट दिँदै जाने भएकाले यी अस्पताल निर्माण प्रक्रिया नरोकिने सरकारको दाबी छ ।

स्थानीय तहमा बन्ने यी अस्पतालमा गुणस्तरीय सेवा दिन ५ शैयाका अस्पतालमा एक मेडिकल अधिकृत सहित १२ जना स्वास्थ्यकर्मी १० शैयाकामा २ मेडिकल अधिकृत सहित १७ जना स्वास्थ्यकर्मी र १५ शैयाका अस्पतालमा ३ मेडिकल अधिकृतसहित २७ जना स्वास्थ्यकर्मी खटाउने सरकारको योजना छ । सरकारले अस्पतालमा विज्ञ जनशक्ति र आवश्यक प्रविधिको कमी हुन नदिने प्रतिवद्धता पनि जनाएको छ ।

अस्पताल निर्माणको जिम्मेवारी स्थानीय सरकारले लिएको छ । सरकारका अनुसार अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रिया सहितको सेवा नागरिकले पाउनेछन् । दुई वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएका अस्पताल तोकिएकै समयमा निर्माण भए, नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *