नेकपा कर्णाली प्रदेश विवाद पार्टी केन्द्रले नै टुंगो लगाउने

२ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद पार्टी केन्द्रले नै टुंगो लगाउने भएको छ।
पार्टीका दुई अध्यक्षको निर्देशनमा काठमाडौंमा रहेका कर्णालीका नेतालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो आश्वासन दिनुभएको हो ।
प्रधानमन्त्रीले हिजो बालुवाटारमा बोलाएर कर्णालीका नेताहरुसँग छलफल गर्नु भएको छ । कर्णालीमा नेकपाका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
संसदीय दलमा उक्त प्रस्ताव दर्ता भएसँगै नेकपा कर्णालीको विवाद उत्कर्षमा पुगेको छ। प्रदेशमा दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि नेकपाले कर्णालीका नेतालाई काठमाडौं बोलाएको हो।
त्यहीक्रममा काठमाडौंमा रहेका नेताले हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। दुबै पक्षका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले केहीदिन भित्रमा नै दुई अध्यक्षले छलफल गरेर विवादबारे निर्णय लिने बताएको भेटमा सहभागी नेताहरुले बताएका छन् ।
नेता यामलाल कँडेलले आफूहरुले अविश्वासको प्रस्ताव दर्ता गर्नुको कारणबारे प्रधानमन्त्रीलाई जानकारी गराएको र दुबै पक्षले राखेका विषय प्रधानमन्त्रीले गम्भिर भएर सुनेको जानकारी दिनुभयो ।
पार्टीले छलफल गरेर विवाद टुंगो लगाउने र निर्णय नहुँदासम्म काठमाडौं नछोड्न पनि अध्यक्ष एवं प्रधानमन्त्रीले निर्देशन दिएको नेता कँडेलले जानकारी दिनुभयो ।
भेटमा मुख्यमन्त्री शाहीले सरकारले गरेका कामबारे जानकारी गराउँदै अब पार्टीले गर्ने निर्णय मान्न आफूहरु तयार रहेको बताउनु भएको थियो।
छलफलमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्ड पक्षीय कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा भने सहभागी हुनु भएन ।
प्रचण्डले आफूले दुवै पक्षसँग छलफल गरिसकेको र प्रधानमन्त्रीले पनि गरेपछि दुवै बस्नुपर्ने भयो भने खबर गर्नुहोला भन्ने सन्देश पठाउनु भएको थियो ।
प्रतिक्रिया