Main News

नेपालमा अझै पनि सुन तस्करी, यसमा भारतीयको समेत हात रहेको पुष्टि ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १ गते २१:०९
नेपालमा अझै पनि सुन तस्करी, यसमा भारतीयको समेत हात रहेको पुष्टि ! (भिडियोसहित)

१ कात्तिक, २०७७ पर्सा । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलोभन्दा बढी सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टमा छापा मारेर २२ किलो ५ सय ७६ ग्राम सुनका बिस्कुट र ६ सय ८१ ग्राम सुनका गरगहना बरामद गरेको हो ।

सुन बरामद भएको घरमा भारत बिहारका बिजेपी नेता प्रमोद सिन्हाका भाइ अशोक बस्दै आएको भारतीय सञ्चार माध्यमले दावी गरेका छन् । प्रमोद बिहारमा हुन लागेको बिधान सभा चुनावमा उम्मेदवार छन् । यसले नेपालमा अझै पनि सुन तस्करी भैरहेको र यसमा भारतीयको समेत हात रहेको पुष्टि हुन्छ ।

केही दिनअघि नै जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका– ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टमा अवैध सुन राखिएको सूचना पाएको थियो । त्यसपछि सुक्ष्म निगरानी गरिरहेको प्रहरीले अपार्टमेन्टमा बस्नेको खोजी गर्यो । तर अपार्टमेन्टमा बस्ने व्यक्ति सम्पर्कमा आएनन । त्यसैले शनिवार प्रहरीको टोली त्यहाँ पुग्यो । र जनप्रतिनिधिलाई साक्षी राखेर अपार्टमेन्टको तेस्रो तल्लाको ३ सय ३ नम्बरको फ्ल्याटको ताला काट्यो ।

ताला काटेर हेर्दा प्रहरीले पाएको सूचना सही ठहरियो, अर्थात छापा मार्दा प्रहरी खाली हात फर्कनु परेन उसले ठूलो परिमाणमा सुन फेला पार्यो । प्रहरीले २२ किलो ५ सय ७६ ग्राम सुनका बिस्कुट र ६ सय ८१ ग्राम सुनका गरगहना बरामद भयो । त्यसबाहेक २ किलो २ सय ६२ ग्राम चाँदीका गरगहना र थालसहितका भाँडाकुडा पनि भेटियो ।

छापा मारिएको फ्ल्याटमा भारतको पूर्वी चम्पारण हरैयाका अशोक सिन्हा बस्ने गरेको अपार्टमेन्टका सुरक्षागार्डले जानकारी दिएका छन् । र, यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपालमा अवैध रुपमा यति ठूलो परिमाणमा सुन बरामद भएको यो पहिलो पटक होइन । सुन भेटिने तस्कर नभेटिने श्रृंखला लामै चलिरहेको छ । कतिपय घटनामा त तस्कर उम्किने भरिया फस्ने गरेका छन् । अब हेर्न बाँकी छ वीरगञ्जको यो सुनकाण्डमा प्रहरी अनुसन्धानले कस्तो परिणाम दिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *