Main News

बुढीगण्डकी आयोजनामा लगाएको आरोप प्रमाणित गर्न डा भट्टराईलाई चुनौती (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २५ गते २०:१८
बुढीगण्डकी आयोजनामा लगाएको आरोप प्रमाणित गर्न डा भट्टराईलाई चुनौती (भिडियोसहित)

२५ असोज, २०७७, काठमाडौं । असोज २३ गते पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेर भ्रष्टाचार गरेको आरोप छ ।

एक प्रकारले भन्ने हो भने यो सार्वजनिक उजुरी पनि हो । के भट्टराईको सार्वजनिक अभिव्यक्ति छानबिनको आधार बन्न सक्छ ? या यो भट्टराइको राजनीतिक स्टण्ट मात्रै हो ? त्यसो हो भने भट्टराईलाई पनि कारवाही होला ?

गृहजिल्ला गोरखा पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सरकारल सुरु गरेको बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीले मिलेर ९ अर्ब घोटाला गरेको आरोप लगाउनु भयो । भट्टराईको आरोप सञ्चारमाध्यममा आएलगत्तै अहिले ठूलो चर्चाको विषय बनेको छ ।

हुनत राजनीतिमा आरोप प्रत्यारोप सामान्य हो । तर भट्टराईले लगाएको आरोप सामान्य छैन । किनकी भ्रष्टाचार आफैंमा संगीन अपराध हो । तर आरोपका विषयमा अहिलेसम्म कांग्रेसबाहेक कतैबाट खण्डन आएको छैन ।

पार्टीले खण्डन गरेपनि आरोपित पूर्व सभापति देउवासहित प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बोल्नुभएको छैन । त्यसैले कतै भट्टराईको आरोप सही त होइन भन्ने पनि उत्पन्न भएको छ ।

भट्टराईले आफूसँग ९ अर्ब घोटालाको प्रमाण रहेको दाबी पनि गर्नुभएको छ । अर्थात उहाँले जे भनिरहनुभएको छ त्यो भएको हो भन्ने प्रमाणित हुने आधार उहाँसँग छ । त्यसैले अब यो कुरा प्रमाणित गर्ने र आरोपितलाई छानबिनको दायरामा ल्याउन उहाँलेनै कदम चाल्नुपर्छ ।

तर ओली, प्रचण्ड र देउवाले ९ अर्ब खाएको प्रमाण आफूसँग रहेको बताउने भट्टराई भने अहिले चुप हुनुहुन्छ । थप विवादमा तानिने भन्दै उहाँले यसविषयमा केही बोल्न चाहानुभएको छैन । त्यसैले उहाँमाथि पनि प्रश्न उठेको छ । अर्थात भट्टराईले राजनीतिक स्टण्टका रुपमा मात्र बोलेको हुनसक्ने आशंका पनि त्यत्तिकै छ ।

त्यसो त सञ्चारमाध्यममा आएका कुरालाई अख्तियारले छानबिनको दायरामा ल्याउन सक्छ । तर त्यसका लागि स्वायत्त भनिएको अख्तियारको आँट चाहिन्छ । र त्यसका लागि भट्टराईले सहयोग गर्नुपर्छ । तर सदाझै‌ यो पनि राजनीतिक खपतका लागि मात्र लगाइएको आरोप हो भने यसले राजनीति र राजनीति गर्नेमाथि थप अविश्वास पैदा हुनेछ ।

भट्टराईको यो आरोपले हलचल पैदा गरेको छ, त्यसैले यो सही हो भने भट्टराई र अख्तियारले छानबिनको प्रक्रिया अघि बढाउन आँट गर्नुपर्छ अन्यथा राजनीतिक स्टण्ट र सस्तो प्रचारबाजी हो भने त्यसका लागि समय र जनताले पनि भट्टराईलाई दण्ड दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *