बिशेष

रास्वपाको महाधिवेशन नजिकिँदै, प्रदेश अधिवेशन बारे सभापति र वरिष्ठ नेता मौन

हिमालय टिभी
२०८३ असार २ गते २०:१६
रास्वपाको महाधिवेशन नजिकिँदै, प्रदेश अधिवेशन बारे सभापति र वरिष्ठ नेता मौन

काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विभिन्न तहको अधिवेशन चलिरहेको छ । महाधिवेशन आउनै अब पाँच दिनमात्रै बाँकी छ ।

हालसम्म ४ हजार तीन सय ६३ वडा, ६ सय ९ पालिका, ६४ जिल्ला र ६ प्रदेशको अधिवेशन सकिएको छ । वडादेखि प्रदेशसम्मका महाधिवेशन सम्पन्न भइसक्दा नेतृत्वमा उत्साह देखिएको छैन । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह अहिलेसम्म कुनै पनि अधिवेशनमा पुग्नु भएको छैन । त्यसो त रास्वपाले नेतृत्व गरेको सरकारमाथि विभिन्न सन्दर्भमा प्रश्न पनि उठिरहेका छन् ।

गत चैत १४ यता रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व गरिरहनुभएको छ। दिन नै गन्ने हो भने शाहको नेतृत्वमा सरकार बनेको ८० दिन पूरा भएको छ । यसबीचमा प्रधानमन्त्री स्वयम् र कतिपय मन्त्रीका अभिव्यक्ति विवादमा परेका छन् ।

यस्तोमा, रास्वपा नेता तथा सांसद मिडियादेखि विभिन्न सार्वजनिक मञ्चमा रक्षात्मक देखिन्छन् । वडादेखि प्रदेशसम्मका पार्टी महाधिवेशन सम्पन्न हुँदा सभापति रवि लामिछाने भने कहीँ पुग्नु भएको छैन । यतिसम्मकी बागमती प्रदेश अधिवेशनमा उद्घाटन गर्ने भनेर प्रचार गरिए पनि उहाँ सहभागी हुनु भएन । यसले अनेक आशंका उब्जाएको छ । सरकारकै कारण सभापति लामिछाने पनि रक्षात्मक बन्नु भएको त होइन भनेर प्रश्न पनि उठेको छ ।

तर, रास्वपा नेताहरू भने त्यसको प्रतिवाद गर्छन् । रास्वपा; सरकारमाथि उठेका प्रश्नको जवाफ दिने स्थानमा मात्रै नभई समाधान नै गर्ने ठाउँमा रहेको नेताहरूको दाबी छ ।

नेताहरूले यसो भनिरहे पनि रास्वपा र नेतृत्वको हैसियतले लामिछानेमाथि प्रश्नका चाङ छन् । पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहले कुनै पनि प्रश्नको सम्बोधन नगर्दा ती सभापतितर्फ तेर्सिने गरेका छन् । यसअघि लामिछानेलाई मिडिया-फ्रेन्ड्ली नेताका रूपमा चिनिन्थ्यो । वाक्‌पटुताका धनी लामिछाने पछिल्लो समय मिडिया र सार्वजनिक मञ्चमा देखिनु भएको छैन । चितवन २ बाट निर्वाचित सांसदसमेत रहेका लामिछाने सदनमा समेत कम देखिनुहुन्छ । तर, रास्वपा नेताहरू रविलाई प्रदेशका नेताहरूमाथि पूर्णत: विश्वास रहेकाले कहीँ नपुगेको तर्क गर्छन् ।

उसो त झन्डै दुईतिहाइ जनमत प्राप्त सरकारका प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबीच सरकार बनेयता भेटघाट समेत पातलिएको छ । प्रधानमन्त्री लुकेर बस्न चाहने भएकाले दलका सभापति स्वाभाविक रूपमा बढी जिम्मेवार हुनुपर्ने दबाब लामिछानेमाथि छ । प्रदेश महाधिवेशनमा समेत नपुगेका लामिछाने अब पाँच दिनपछि सुरु हुने केन्द्रीय महाधिवेशनमा कस्तो सुनिनुहुन्छ, त्यो हेर्न बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्