राजावादीको अफवाह : माहोल गर्माउन प्रोपोगाण्डा

काठमाडौं : जेठ १५ नेपालमा गणतन्त्र आएको अवसरमा मनाइन्छ । तर यही मिति यो पटक राजावादीले राजा फर्काउने दिन भनेर माहोल ताताउन थालेका छन् ।
अनि प्रयोग गरेको शैली भने अफवाह र मनगढन्ते प्रचार। फेसबुकमा बालेन र ज्ञानेन्द्र भेट भए भन्दै पोस्ट बर्सिरहेका छन्, न पुष्टि हुने आधार न त प्रमाण । कांग्रेस सभापति शेरबहादुर देउवाले हृदयेन्द्रलाई बेबी किङ भनेर समर्थन गरे भन्ने हल्ला पनि उस्तै छ । रास्वपालाई आन्दोलनमा आउन चिठी पठाएर माहोल आफ्नो बनाउने रणनीति राजावादीको छ । तर प्रश्न किन रास्वपालाई नै पठाइयो ? अनि यो किसिमको हल्ला फैलाएर राप्रपा र राजावादीले दिन खोजेको सन्देश के हो ?
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ लाई निर्णायक दिन बनाउने दाबीका साथ राजावादीहरू मैदानमा उत्रिँदैछन्। तर आन्दोलनको माहोल बनाउन उनीहरूले सुरु गरेको रणनीति भने गम्भीर भन्दा पनि विवादित बनेको छ । जेठ १५ नआउँदै राजा आउँछन् भन्ने हल्ला, बालेन शाहले दरबार गएका थिए भन्ने फेसबुक पोस्ट, देउवाले हृदयेन्द्रलाई राजगद्दी दिने सन्देश दिए भन्ने प्रचार, अनि रास्वपालाई चिठी पठाएर आन्दोलनमा आउन निम्ता लगायत सबै मिलाएर हेर्दा राजावादीहरूको तयारीभन्दा पनि हल्ला बलियो देखिन्छ।
केके फिजाइयो हल्ला ?
बालेन–ज्ञानेन्द्र भेटबारे हल्ला
फेसबुकमा राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटादेखि केही कृयाशील समर्थकहरूले श्री ५ महाराजधिराज ज्ञानेन्द्र र मेयर बालेनबीच गोप्य भेटवार्ता भएको भनेर पोस्ट ठोकेका छन्। एउटै शैली, एउटै भाषा, एउटै भाव । तर कुनै स्थान, मिति, वा भेटको एजेन्डाबारे कुनै जानकारी छैन। यस्तो लाग्छ, उनीहरू भेट होइन, बयानात्मक स्क्रिप्ट लेखिरहेका छन्। बालेन शाह आफैंले कुनै प्रतिक्रिया दिएका छैनन्, न त राजदरबारले नै। तर सामाजिक सञ्जालमा यो कथालाई यति व्यापक बनाइएको छ कि मानौं काठमाडौंको नीति नै अब बालेन र ज्ञानेन्द्र मिलेर लेख्दैछन्। तर स्रोत छैन, पुष्टि छैन ।
हृदयेन्द्रलाई ‘बेबी किङ’ मान्न तयार भन्ने सन्देश
अर्को चर्चित हल्ला फैलाइयो । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वनवयुवराज हृदयेन्द्र शाहलाई राजा स्वीकार गर्न सकिने संकेत । राजावादीहरूले त यति प्रचार गरे कि मानौं देउवाले ‘संवैधानिक राजसंस्था पुनर्स्थापना अब कांग्रेसको पनि एजेन्डा हो’ भनेर औपचारिक घोषणा गरे झैं। तर यथार्थ ? कांग्रेसले विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेको छ । हुन त देउवा आफै कम बोल्ने राजनीतिक नेता हुनुहुन्छ । उहाँले कतै केही बोलेको पनि पाइँदैन ।
रास्वपालाई आन्दोलनमा आउन चिठी
राजसंस्था पुनर्स्थापना अभियानको सिनर्जी बढाउन रास्वपालाई पनि आन्दोलनमा तान्ने प्रयास भयो। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बकायदा चिठी लेखेरै जेठ १५ को कार्यक्रममा सहभागिता मागे। तर रास्वपाले आन्दोलनमा हाम्रो कुनै संलग्नता नभएको प्रष्टाएको छ ।
चैत १५ को पुनरावृत्तिको डर ?
गएको चैत १५ मा राजावादी आन्दोलनले जुन हिंसात्मक रूप लिएको थियो, त्यसले अहिलेको जेठ १५को तयारीलाई शंका र त्रासको घेरामा राखेको छ। दुई जनाको मृत्यु, पत्रकारमाथि आक्रमण, सरकारी सम्पत्तिको तोडफोड र आगजनी । यी घटनाले आन्दोलनको वैधानिकता होइन, आक्रोश देखायो। त्यसपछि केही महिना राजावादी आन्दोलन मौन बस्यो, तर अब पुनः राजा ल्याइछाड्ने हुंकारका साथ उचालिन थालेको छ।
यो पटक उनीहरूले आन्दोलन ‘शान्तिपूर्ण’ हुने दाबी गरेका छन्, तर प्रचारशैली भने फेरि आक्रामक देखिन्छ । पुष्टि नभएका हल्ला, राजनीतिक व्यक्तित्वहरूलाई जोडेर मनगढन्ते कथा र टोलटोलमा पर्चा बाँड्ने रणनीतिले स्पष्छ छ प्रपोगाण्डा चलिरहेको छ ।
राजसंस्था पुनर्स्थापनाको मागलाई लोकतान्त्रिक प्रणालीमा राख्न सकिन्छ। तर प्रचारको नाममा अफवाह, झुटा समाचार र मनगढन्ते भेटवार्ताको कथा बुन्दै आन्दोलनको माहोल बनाउने चलन भने लोकतन्त्रको अभ्यास होइन, भ्रम सिर्जना गर्ने प्रवृत्ति हो। राजसंस्थाको बहस विचारको होला । तर यसलाई बालेन र देउवाको मौनता, र हृदयेन्द्रको पढाइसँग जबर्जस्ती गाँसेर ‘जनमत’ बनाउने प्रयास गर्नु भनेको जनता होइन, फेसबुक लाईकको भरोसा गर्नु हो।
प्रतिक्रिया