भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं : भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा आजैबाट स्थल तथा हवाइ आक्रमण रोक्न दुबै देश तयार भएका हुन्। भारतीय विदेश मन्त्रालयले यसबारेमा जानकारी दिँदै दुबै देश युद्धविराममा सहमत भएको जनाएको हो।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि दुबै पक्षबीच तत्काल प्रभावकारी हुने गरी युद्धविराममा सहमति कायम भएको पुष्टि गरेका छन्। यो सहमति त्यस्तो समय आएको हो जब शनिबार बिहानसम्म दुबै देशले एकअर्कामाथि आक्रमणको आरोप लगाइरहेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार, युद्धविरामका लागि उपराष्ट्रपति जेडी भान्स र उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतीय विदेशमन्त्री एस. जयशंकर, पाकिस्तानी सेनाप्रमुख जनरल असिम मुनिर, तथा दुबै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र असिम मलिकसँग संवाद गरेका थिए।
युद्धविरामको घोषणासँगै दुवै देशबीच वार्ताको ढोका खुलेको छ। दुवै पक्षले आगामी मे १२ मा तटस्थ स्थानमा औपचारिक वार्ता गर्ने सहमति जनाएका छन्। ट्रम्पले युद्धविरामको घोषणा भारत–पाकिस्तानको आधिकारिक भनाइ आउनुअघि नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनले यस निर्णयलाई सामान्य बुद्धि र उत्कृष्ट कूटनीतिक चातुर्य को परिणाम भन्दै दुबै पक्षलाई बधाई दिएका छन्।
भारत र पाकिस्तानबीच लामो समयदेखि कश्मीरलगायतका विषयहरूमा विवाद रहँदै आएको छ। विगतमा बारम्बार सैन्य झडप भएका यस्ता घटनाले दक्षिण एशियाको शान्ति र स्थायित्वमा गम्भीर प्रश्न उठाउँदै आएका छन्।
प्रतिक्रिया