नेकपा एसले के-के गर्यो निर्णय ?
काठमाडौं : पाँच महिनासम्म कामको बाँडफाँड नगरेको भन्दै पार्टीभित्र आलोचनाको निशाना बनेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले अन्ततः गल्ती स्वीकार्दै आत्मालोचना गरेका छन्।
महाधिवेशनपछि नेताहरूलाई जिम्मेवारी दिन नसकेको र पार्टीलाई बलियो बनाएर उभ्याउन ढिला भएको स्वीकार्दै, अब भने ठोस कार्यविभाजनको प्रस्ताव ल्याइएको छ। अबको कुनैपनि चुनावमा गठबन्धन नगर्नेदेखि २४ सदस्यीय सचिवालय गठन र संविधान संशोधन गर्नको लागि सुझाव कार्यदल गठन गर्ने स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले महाधिवेशन सम्पन्न भएको पाँच महिनासम्म कार्यविभाजन गर्न नसकेकोमा कमजोरी स्वीकार गरेका छन्। बैठकमा नेताहरूले नेतृत्वसँग जवाफ मागेपछि दुवैले जनतासँगको सम्पर्क र पार्टीको सांगठनिक सुदृढीकरणमा ढिलाइ भएको भन्दै आत्मालोचना गरे। अध्यक्ष नेपालले वर्षा, बाढीपहिरो र चाडबाडका कारण कार्यविभाजनमा ढिलाइ भएको स्पष्टिकरण दिनुभएको थियो ।
कार्यविभाजनको प्रस्ताव
कार्यविभाजन प्रस्तावको रूपमा विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ। संगठन विभाग प्रमुखको जिम्मेवारीमा बेदुराम भुसाल, प्रचार विभागमा प्रकाश ज्वाला, विदेश विभागमा झलनाथ खनाल, र स्कुल विभागमा प्रमेश हमाललाई प्रस्ताव गरिएको छ।
प्रदेश इन्चार्जहरूको जिम्मेवारी यसरी तोकिएको छः
कोशी प्रदेश: जगन्नाथ खतिवडा
मधेश प्रदेश: धर्मनाथ साह
बागमती प्रदेश: गंगालाल तुलाधर
गण्डकी प्रदेश: श्रीनाथ बराल
लुम्बिनी प्रदेश: सोमप्रसाद पाण्डे
कर्णाली प्रदेश: चन्द्रबहादुर शाही
सुदूरपश्चिम प्रदेश: भानुभक्त जोशी
यसबारेमा दुई दिनपछि मात्रै निर्णय लिइने बुझिएको छ । बैठकमा गठबन्धनको प्रभाव र पार्टीको पहिचान स्थापित गर्न नसक्नुमा समीक्षा गरियो। महासचिव भुसालले पेश गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको कार्ययोजना पारित गरिएको छ। यस कार्ययोजनामा संघर्षको माध्यमबाट पार्टीलाई सुदृढ बनाउनुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।
पार्टी एकता सम्बन्धि निष्कर्ष
बैठकले विचार र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकता गर्ने विकल्पलाई खुला राखे पनि तत्काल कुनैपनि पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रसँगको एकताको सम्भावनाबारे छलफल भए पनि सिद्धान्तगत भिन्नताका कारण एकता असम्भव भएको बताइएको छ। यस्तै बैठकले आगामी चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको छ । संविधान संशोधनबारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।
पार्टीलाई सैद्धान्तिक, वैचारिक, र सांगठनिक रूपमा बलियो बनाउने रणनीति तय गरिएको छ। बैठकमा नेताहरूले व्यापक छलफलपछि संघर्ष र सांगठनिक पुनर्संरचनाबाट पार्टीलाई जनतामाझ पुनःस्थापित गर्ने सहमति जनाएका छन्। बैठकले महाधिवेशनपछि कार्यविभाजनमा ढिलाइका कारण पार्टीभित्र असन्तोषको वातावरण सृजना भएको स्वीकारेको छ।
तर, पारित कार्ययोजना र नयाँ नेतृत्व विभाजनले एकीकृत समाजवादीलाई सुदृढ आधारमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। नेकपा एकीकृत समाजवादीको यो बैठक पार्टीभित्रको असन्तोष समाधान गर्न र आगामी राजनीतिक यात्रा निर्धारण गर्न महत्त्वपूर्ण कदम साबित भएको छ। नेतृत्वले कमजोरी स्वीकार गरी कार्ययोजना प्रस्तुत गर्नु सकारात्मक भए पनि, त्यसलाई कार्यान्वयन गर्नु नै पार्टीको भविष्यका लागि निर्णायक हुनेछ।
प्रतिक्रिया