सार्वभौम संसद बाझ्ने थलो !

हिमालय टिभी
२०८१ भदौ १३ गते २०:१४
सार्वभौम संसद बाझ्ने थलो !

काठमाडौं : संघीय संसदमा अहिले बहसको विषय के हुनुपथ्र्यो होला ? लामो समयदेखि अड्किएका कयौँ विधेयक, निरन्तरको वर्षा र बाढी पहिरोले प्रभावित भएको जनजीवन, महंगी, चाडपर्वका लागि सहुलीयतपूर्ण खाद्यान्न उपलब्धताका लागि सरकारको खबरदारी जस्ता विषय ।

संसदकै कार्यतालिकाअनुसार धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन विधेयक लगायत । तर के संसद यीनै विषयमा गम्भीर छ ? कि व्यक्तिगत लाञ्छनामा लगाउनमा केन्द्रित छ ?
प्रतिनिधिसभाको बुधबारको बैठकको मुख्य छलफलको विषय थियो, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्ने ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ ।

विधेयकबारे बोल्ने सांसदकाे जिम्मेवारी थियो, सरकारलाई वित्तीय उत्तरदायित्वबारे सुझाव दिने ।

यो विधेयक छलफलका लागि प्रस्तुत नहुँदै विशेष समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुबीच छेड्खानी चल्यो ।
एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले विशेष समयमा डेडिकेटेड र ट्रंकलाइनको बक्यौताका विषयमा बोल्ने क्रममा तत्कालीन माओवादी सशस्त्र युद्धलाई ‘माओवादी हिंसा’ भनेपछि सुरु भएको दुई पार्टीका नेताहरुबीचको चर्काचर्की व्यक्तिगत तहमै पुग्यो

यो विषयले दुई पार्टीका सांसदबीच धेरैबेरसम्म बाझाबाझ चल्यो । माइकमा बोल्ने अवसर पाएकादेखि माइक पाउन नसकेहरुले एक–अर्का नेतातिर औँला उठ्याउँदै चोथाले भाषा प्रयोग मात्र गरेनन्, व्यक्तिगत लाञ्छनामा पुगे । बुधबारको बैठकमा विशेष समयपछि सांसदहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ को छलफलमा प्रवेश गरे पनि हिंसाको विषयले बिहीबारको बैठकमा समेत निरन्तरता पायो ।

माओवादी सांसद छिरिङ डम्डुल लामाले एमाले माओवादी युद्धलाई हिंसा भन्नुभएका एमाले सचिव योगेश भट्टराईलाई हतियार तस्करीको आरोप लगाउनुभयो ।

माओवादी सांसद लामाको आरोप बाहिरिएलगत्तै एमाले सचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् जवाफ फर्काउनुभएको छ । भट्टराईले माओवादीले हत्या, हिंसा गरेको, बैंक लुटेको, रक्तचन्दन तस्करी गरेको लगायतका आरोप लगाउँदै आफूमाथिका आरोपको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभएको छ ।

एमाले र माओवादीको भनाभन संसद वा सम्बन्धित सांसदमा मात्र सीमित छैन । सामाजिक सञ्जाल फेसबुक तथा एक्समा समेत एकअर्कालाई खुइल्याउने अभियानमा यी दुवै पार्टीका कार्यकर्ता सक्रिय रुपमा लागेका छन् । संसदमा आम जनजीविकाका कुरादेखि कानून निर्माणको छलफल हुनुपर्नेमा यी दुई दल एकअर्कालाई लाञ्छना लगाउने ठाउँमा आईपुगेका छन् ।

त्यसो त संसदको यो दृष्य यी दुई पार्टीमा मात्र सीमित छैन । बिहीबारकै बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाई र रास्वपा सांसद चन्दा कार्कीबीच वादविवाद भएको छ भने विगतमा रास्वपा, कांग्रेस, एमाले, माओवादी र राप्रपाका सांसदहरु पनि भिड्दै आएका छन् ।

तोकिएको कार्यसूची र विषयवस्तुको गाम्भीर्यताअनुसार उठ्ने शून्य वा विशेष समयका सन्दर्भहरु बाहेकका विषयमा सांसदहरुबीच हुने लाञ्छनालाई रोक्न सभामुख देवराज घिमिरे सफल देखिइरहनु भएको छैन । जसका कारण सांसदहरुबीच भद्धा र सस्ता शब्दहरु प्रयोग भइरहेका छन् । यसले संसदप्रतिको आम दृष्टिकोणसमेत खराब बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *