त्रिविमा तनाव, मन्त्रीले नै सुरक्षाको गुहार माग्ने अवस्था किन आइपर्‍यो ?

२०८१ भदौ ५ गते २०:०३
त्रिविमा तनाव, मन्त्रीले नै सुरक्षाको गुहार माग्ने अवस्था किन आइपर्‍यो ?

काठमाडौं : विश्वविद्यालय भनेको प्राज्ञिक थलो हो । विश्वका जुनसुकै कुनामा पनि विश्वविद्यालय भनेको शान्तिपूर्ण वातावरणमा अध्ययन/अध्यापन हुने केन्द्र हो । तर यो नेपालको हकमा भने अपवाद हो । किनभने नेपालको विश्वविद्यालयमा गुण्डाराज चल्छ ।
त्रिभूवन विश्वविद्यालयमा अहिले यस्तै आतंक चलिरहेको छ । यतिसम्मकी एउटा विद्यार्थी नेताको धम्कीका कारण उपकुलपति, रजिष्ट्रारको भागाभाग भइरहेको छ । र शिक्षामन्त्री अर्थात् सहकुलपतिले सामाजिक सञ्जालमा लेखेरै त्रिवि पदाधिकारीको सुरक्षाको माग गर्नुपरेको छ ।

त्यो पनि गृहमन्त्रीसँग, जो धम्की दिने नेतालाई संरक्षण गरिरहेका छन् । अनि विश्वविद्यालय परिसरमा प्रहरीको पहराले दिनभर जेल भन्दा फरक देखिएन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बुधबार बिहानै त्रिभुवन विश्वविद्यालयको सुरक्षाका लागि गृहमन्त्रीसँग सामाजिक सञ्जालमार्फत् अपिल गर्नुभयो ।

एउटा क्याबिनेट मन्त्रीले सामाजिक सञ्जालमार्फतै आफ्नो सहकर्मी गृहमन्त्रीसँग सुरक्षा माग्नुपर्ने अवस्था विश्वविद्यालयको आन्तरिक सुरक्षा कति कमजोर भएको छ भन्ने यो उदाहरण हो । खासमा मन्त्रीले यो अपिल विश्वविद्यालयमा भइरहेको राजनीति उहाँको काबु बाहिर गएरै हो । किनकी जसबाट पदाधिकारीको सुरक्षा गर्न भनिएको छ, ति व्यक्ति बहालवाला गृहमन्त्री रमेश लेखकसँग कुम जुधाइरहेका छन् ।
जसलाई अप्रत्यक्ष रूपमा नेपाली कांग्रेस र गृहमन्त्री लेखकले संरक्षण गरिरहनुभएको छ । शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जालबाटै गृह मन्त्रीसंग सुरक्षा माग गरेको विषय आवेशमा नभई बारम्बर समन्वय गर्दा पनि सल्टाउन नसकेपछि लेख्नु परेको प्रष्ट्याउनुले यसलाई पुष्टि गर्दछ ।

मन्त्री भट्टराईले लेखकलाई फोनबाटै पनि यो माग गर्न सक्नुहुन्थ्यो । तर गृहमन्त्री लेखकले विश्वविद्यालयका पदाधिकारीलाई धम्क्याउने व्यक्तिलाई संरक्षण गरेकै कारण शिक्षा मन्त्रीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा आएको हो । त्रिविको समाजशास्त्र विभाग प्रमुख नियुक्तिको विवादमा विश्वविद्यालयको प्रशासनलाई धम्की दिने र गृहमन्त्री लेखकसँग कुम जुधाउने अरु कोही नभएर कांग्रेस महाधिवेशन प्रतिनिधि योगेन्द्र रावल हुन् ।

के हो विवाद ?

समाजशास्त्रको विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर विश्वविद्यालयमा असुरक्षा बढेको हो । विभागीय प्रमुख युवराज लुइँटेलको कार्यकाल सकिएपछि अर्को विभागीय प्रमुख नियुक्ति गर्नुपर्दा वरियतामा रहेका पहिलोलाई बाइपास गरेर दोस्रो व्यक्ति टिकाराम गौतम सिफारिसमा परेपछि विवाद सतहमा आयो ।

यो विवाद अहिलेको मात्रै होइन । तत्कालिन उपकुलपति तीर्थ खनियाँले गौतमलाई तीन महिनाको लागि विभागीय प्रमुख बनाएका थिए । धर्मकान्त बास्कोटाले विश्वविद्यालय सम्हाले त्यस पछि ज्येष्ठताको आधारमा लुइटेललाई विभागीय प्रमुख बनाइएको थियो ।
बाँस्कोटाको निर्णयको विरोधमा पनि तालबन्दी भएको थियो । तालबन्दीको बिरोध गर्दा उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने तिनै योगेन्द्र रावल समूह थियो । उनै रावल समूह अहिले गौतमलाई समाजशास्त्रको विभागीय प्रमुख बनाउनु पर्ने भन्दै पदाधिकारीलाई धम्की दिएको हो । धम्की दिनेबारे सबै जानकार भएपनि कोही खुलेर बोल्न चाहँदैनन् ।

धम्की दिएपछि असुरक्षाका कारण उपकुलपति आउनुभएको छैन । उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएकाले गत सातादेखि नै बिदामा भएको बूझिएको छ । तर विश्विद्यालयमा धम्कीको आतंक यति फैलिएको छ कि गत शुक्रबार शिक्षा मन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन समेत आग्रह गरेको पत्र पाइएको छ ।

रावल उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने दुई मुख्य आरोपी मध्ये एक हुन् । त्रिवि परिसरमा २०७७ असोज २० मा सामाज शास्त्रका उपप्राध्यापक चलाउने माथि मोटरसाइकलमा आएका समूहले रडले हानेर गम्भीर घाइते बनाएको थियो ।
प्रहरीले रावल र हरी आचार्यलाई उनीहरुकै योजनामा घटना भएको भन्दै मुलकी अपराध संहिताको दफा १८३ को ज्यान मार्ने उद्योग गरेको कसूरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गराउन माग दावी गरेको थियो ।

त्यतिखेर पनि चलाउनेलाई कुट्नेलाई जोगाउन २०७८ जेठ ३० मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदले चलाउने कुटपिट गर्ने कांग्रेस कार्यकर्ता आचार्यलगायतको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय लिएको थियो । अहिले फेरि त्यही समूहका अर्का आरोपी मुछिँदा गृहमन्त्री लेखकले संरक्षण गरेका हुन् । जसको विरोधस्वरुप भडास पोख्न शिक्षामन्त्रीले सामाजिक सञ्जाल प्रयोग गर्नुपरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *