रारा भ्रमण : राम्रो सडक र होटल नहुँदा पर्यटकलाई समस्या (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २७ गते ७:०६
रारा भ्रमण : राम्रो सडक र होटल नहुँदा पर्यटकलाई समस्या (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०८० मुगु । असोज र कात्तिक महिना मुगुको रारा ताल घुम्ने उपयुक्त मौसम र समय मानिन्छ । चाडपर्वको समयमा लामो बिदा हुँदा फुर्सद मिलाएर रारा घुम्न पर्यटक पुग्ने गर्दछन् ।

वर्षेनी सयौँ पर्यटक पुगेपनि रारा तालमा उचित होटल छैनन् । सडकको अवस्था बिजोग छ । त्यही भएर पनि नचाहँदा नचाहँदै पनि पर्यटक राराको भ्रमण छोट्याएर फर्कन बाध्य छन् ।

यतिबेला कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य रारा ताल घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ । यो समयमा रारा तालमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन् । सडक दुरावस्थाका बीच बाह्य पर्यटक भन्दा रारामा आन्तरिक पर्यटकको चाप बढ्दो छ ।

तर, रारामा भने जस्तो सेवा सुविधा नहुँदा पर्यटक समस्यामा छन् । राराभित्र दुई होटल र एक होम स्टे छ । यिनै होटल र होम स्टेमा एक पटकमा मुस्किलले तीन सय जना बस्न पाउँछन् । टेन्ट र पाल हालेमा ५ सय ७ सय सम्मले बास बस्न सक्छन् । राराको मनमोहक दृष्यले पर्यटकलाई मोहित गरेपनि सडक र पूर्वाधार नहुँदा पर्यटकलाई पुग्न भने मुस्किल हुने गरेको छ ।

छायाँनाथ रारा नगरपालिकाले गत वर्षको नगरसभाबाट ताल क्षेत्रभित्र सञ्चालित होटल बाहिर ल्याउने निर्णय गरेको भएता पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । ताल क्षेत्रभित्रको होटलले राराको सफा तथा कञ्चन सुन्दरतामा ह्रास पुग्ने भएकाले तालभन्दा बाहिर होटल बनाउनुपर्ने तथा ताल क्षेत्रभित्र रहेको सेनाको गुल्मलाई बाहिर सारेर राराको सौन्दर्य जोगाइराख्नुपर्ने नगरवासीको माग छ ।

अहिलेको बदलिँदो समयसँगै पर्यटकको रूचिलाई ध्यानमा राखी परम्परागत सुविधा, वन्यजन्तु शिकार तथा प्राकृतिक स्थानमा बसेर इन्टरनेटमार्फत स्वतन्त्र रूपमा सेवा दिन सके राराको सौन्दर्यमा सुनमा सुगन्ध पुग्ने पर्यटक बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *